धादिङ, शुक्रबार, ५ असार २०७७ । जिल्लामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित हुनेको सङ्ख्या बढ्न थालेपछि आइसोलेसनको समस्या हुन थालेको छ ।
स्थानीय पालिकाले जिल्ला सदरमुकाममा रहेका आइसोलेसनले सङ्क्रमित सबैलाई धान्न कठिन हुने बुझेपछि आफ्नै पालिकामा रहेका क्वारेन्टाइनलाई व्यवस्थित बनाएर आइसोलेसनका रूपमा प्रयोग गर्न थालेका छन् ।
जिल्लाका ९२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये नीलकण्ठ नगरपालिकाको मात्रै ५२ जना र ज्वालामुखी गाउँपालिकमा २३ जना छन् । जिल्लाका विभिन्न स्थानका पाँच जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
जिल्लाभर क्वारेन्टाइन बेडको क्षमता एक हजार ३७६ रहेकोमा हाल २० महिलासहित २०७ जना बसिरहेका छन् । त्यसैगरी आइसोलेसन बेडको सङ्ख्या ३९ रहेको भए पनि छ महिलासहित ५२ जनालाई आइसोलेसनमा राखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
उता ज्वालामुखी गाउँपालिकाले क्वारेन्टाइनलाई नै व्यवस्थित बनाएर आइसोलेसनका रूपमा प्रयोगमा ल्याएको छ । ज्वालामुखी गाउँपालिकाका अध्यक्ष विनोदराज तिमल्सिनाका अनुसार सङ्क्रमित व्यक्तिलाई व्यवस्थित बेड, तातोपानीका लागि विद्युतीय जग, पर्सनल थर्मोमिटर, स्वस्थ र तागतिला खाना खाजाको व्यवस्था मिलाइएको छ । तिमल्सिनाले आइसोलेसनको मुख्य समस्या दक्ष स्वास्थ्यकर्मीको अभाव हो, यदि स्वास्थ्यकर्मी पालिका–पालिकामा पठाउन सक्ने हो भने लक्षण नदेखिएकालाई अस्पताल लैजान नपर्ने बताउनुहुन्छ । त्रिपुरासुन्दरी गाउँपालिकाले पनि क्वारेन्टाइनलाई नै आइसोलेसनका रूपमा प्रयोग गरेको छ ।
स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिले नीलकण्ठ नगरपालिकामा २४, थाँक्रे गाउँपालिकामा पाँच, गजुरी गाउँपालिकामा दुई, बेनिघाट रोराङ गाउँपालिकामा तीन, त्रिपुरासुन्दरी गाउँपालिकामा पाँच बेड क्षमताकोे आइसोलेसन कक्ष छ । पछिल्लो समय सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि बेडको अभाव हुँदा उपचार प्रभावित हुने भएकाले सङ्कट व्यवस्थापन केन्द्रले सम्बन्धित स्थानीय तहलाई नेपाल सरकारले तोकेको मापदण्डअनुसारको आइसोलेसन बेड थप्न निर्देशन दिएको छ ।
धादिङ जिल्लाको विभिन्न गाउँबस्तीका बासिन्दा लकडाउनको अवधिमा भारतबाट सामूहिक रूपमा घर फर्किएपछि समूहगत रूपमा कोरोना सङ्क्रमण देखिन थालेको हो । सङ्कट व्यवस्थापन केन्द्र (सीएमसी) धादिङको अभिलेखअनुसार कोरोना भाइरसको महामारी फैलिएपछि जेठ मसान्तसम्ममा भारतलगायत अन्य देशबाट ९८० जना गाउँ फर्किएका छन् । लकडाउनपछि गाउँ फर्किएकामा अधिकांश भारतबाट आएका नै छन् । गोरखापत्रको साथमा








































