काठमाडौं, सोमबार, १ असार २०७७ । गृह मन्त्रालयको निर्देशनपछि आजदेखि दुई पाङ्ग्रे सवारी साधनमा पनि जोर-बिजोर लागू गरेको छ ।
गृह मन्त्रालयले सबै निजी सवारी साधनमा जोर-बिजोर प्रणाली लागू गर्न मन्त्रालय मातहतका निकायलाई निर्देशन दिएसँगै आजदेखि फेरि नयाँ नियम लागू भएको ट्राफिक प्रहरीले जनाएको छ ।
गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले मन्त्रिपरिषद्को निर्णयलाई थप प्रष्ट पार्दै मोटरसाइकलमा पनि सोमबारदेखि जोर-बिजोर प्रणाली लागू हुनेगरी मातहतका निकायमा परिपत्र गरिएको जानकारी दिए ।
आजदेखि ४ पाङ्ग्रे र २ पाङ्ग्रे सवारी साधन सबैमा जोर-बिजोर प्रणाली लागू हुने भएको छ । मोटरसाइकल र स्कुटरमा एकजना मात्र बस्ने नियम पनि परिवर्तन नहुने भएको छ । बिहानैदेखि प्रहरीले यो नियमलाई कडाइ गरेको छ ।








































