काठमाडौं, २६ बैशाख २०७७ । भारतले नेपाली भूभागमा पर्ने लिपुलेक हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेको मानसरोवर जाने बाटो उद्घाटन गरेको छ । धार्चुला–लिपुलेक लिंकरोड भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेका हुन् ।
भारतीय रक्षा मन्त्रालयले विज्ञप्ति जारी गरी उत्तराखण्डको बोर्डर रोड अर्गनाइजेसन ९बिआरओ०ले कैलाश मानसरोवर रुटलाई चीनको बोर्डरसम्म जोडेको जनाएको छ । रक्षामन्त्री सिंहले पनि बिआरओले निर्माण गरेको सडक सञ्जालको शुक्रबार उद्घाटन गरिएको ट्विटमार्फत् जनाएका छन् ।
उनले भारतको उत्तराखण्डको धार्चुला क्षेत्रको पिथौरागढदेखि नेपालको दार्चुलाको गुन्जी क्षेत्र हुँदै लिपुलेक पुग्ने सडक मार्गको निर्माण गर्ने बिआरओलाई धन्यवाद दिएका छन् ।
सिंहले ट्विटमार्फत् बिआरओले सीमा जोड्नका लागि केही वर्षदेखि उत्कृष्ट काम गर्दै आएकोमा प्रशंसा गरेका छन् । उनले लेखेका छन्, ‘बिआरओले धेरै ठूलो काम गरेको छ । सीमा क्षेत्र जोड्न बिआरओको भूमिका महत्त्वपूर्ण छ ।’
यसअघि भारतले नोभेम्बर २०१९ मा एक राजनीतिक नक्सा सार्वजनिक गर्दै नेपाली भूमि लिपुलेक र लिम्पियाधुरा वैधानिक रुपमा आफ्नो बनाएको थियो । नेपालमा त्यसको चर्को विरोध भए पनि उक्त नक्सा सच्याइएको छैन । उल्टै सोही क्षेत्र हुँदै नेपालसँगको परामर्शबिना उक्त सडक मार्ग सञ्चालन गरिएको छ ।
सन् १८१६ को सुगौली सन्धिअनुसार काली ९महाकाली० नदीपूर्वका सम्पूर्ण भूभाग नेपालको हो । सर्वे अफ इन्डियाले नेपाली भूभागसमेत भारततर्फ पर्नेगरी नोभेम्बर २०१९ यता दुईवटा राजनीतिक नक्सा प्रकाशन गरेपछि नेपालमा त्यसको चर्को विरोध भएको थियो ।








































