काठमाडौं, २१ बैशाख २०७७ । सेभ द चिल्ड्रेनले नेपाल सरकारलाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) र अन्य अत्यावश्यक स्वास्थ्य सामग्रीहरु सहयोग गरेको छ ।
नोभेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न सघाउने उद्देश्यले एक हजार ७४३ सेट पीपीई र अन्य अत्यावश्यक स्वास्थ्य सामग्रीहरु प्रदान गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा सेभ द चिल्ड्रेनको नेपालस्थित राष्ट्रिय कार्यालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई उक्त सामग्री हस्तान्तरण गरेको हो ।
सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री ढकालले सेभ द चिल्ड्रेनले प्रदान गरेको सहायताले सरकारलाई स्वास्थ्य सेवा सुदृढीकरण गर्न र स्वास्थ्यकर्मीहरुलाई कोभिड–१९ को संक्रमणबाट रोक्न सहयोग गर्ने बताए ।
सेभ द चिल्ड्रेनले उपलब्ध गराएका (पिपिई) सेट विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको मापदण्ड अनुसारका रहेका छन् ।
कोभिड–१९ को संक्रमण फैलिनबाट रोक्नका लागि नेपाल सरकारलाई मद्दत गर्ने र अति सीमान्तकृत समुदाय विशेषगरी जोखिममा रहेका बालबालिकाहरुसम्म स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गराउने रहेको छ उदेशय संस्थाको रहेको छ ।








































