काठमाडौं, १९ बैशाख २०७७ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण नेपाली जनता र सिंगै विश्व कोरोना महामारीका विरुद्ध लडिरहेका बेला नेपालका केही सञ्चार माध्यम र सामाजिक सञ्जालहरुले देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गरिरहेको आरोप लगाएकोप्रति नेपाली कांग्रेसका नेता गगन थापाले आपत्ति लगाएका छन् ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा जारी गरेको भिडियो सन्देशमा प्रधानमन्त्री ओलीले कसैले यस परिस्थितिलाई बिथोल्न र बिगार्न खोज्छ भने सरकार, नेकपाका कार्यकर्ता र आम नेपाली जनतालाई यो किमार्थ स्वीकार्य हुँदैन भन्दै धम्कीपूर्ण भाषासमेत प्रयोग गरेकोप्रति थापाले आपत्ति जनाएका हुन् ।
सामाजिक संजाल फेसबुकमा थापाले लेखेका छन्,
‘वाह प्रधानमन्त्रीज्यू ! महामारीको मौका छोपेर आफ्नो स्वार्थका लागि अस्थिरताको खेल खेल्ने, अनेकन प्रपञ्च रचेर परिस्थिति विगार्ने तपाईं ! गर्नु पर्ने नगर्ने, देख्नुपर्ने नदेख्ने,सुन्नुपर्ने नसुन्ने तपाईं!अनि धम्की ति खवरदारी गर्नेहरूलाई ? जो चोर उसैको ठूलो स्वर।कोही तर्सनेवाला छैन यो धम्कीबाट ।’










































