काठमाडौं, ५ बैशाख २०७७ । नेपाली कांग्रेस सहमहामन्त्री एवम् पूर्वमन्त्री प्रकाशशरण महतले काठमाडौंलगायत देशका प्रमुख शहरमा ज्यालादारीमा मजदुरी गर्ने मजदुरहरु हिँडेर घर फर्किंदा दु:ख कष्ट सहनुपरेको प्रति आफ्नो गम्भीर ध्यान गएको बताउनु भएको छ ।
आज शुक्रबार कांग्रेस सहमहामन्त्री महतले आफ्नो घर जान सयौं किलोमिटर हिँडेर पनि अहिले बाटोमै अलपत्र परेका मजदुरहरुको उद्धार गर्न र सक्दो सहयोग गर्न जिल्लाका पार्टी सभापति तथा नेताहरूसँग आफ्नो समन्वय भएको समेत जानकारी गराउनु भयो ।
सरकारले ती अलपत्र मजदुरहरुलाई राहतको व्यवस्थापन गर्नुपर्ने हो तर सरकारले त्यता ध्यान नदिएकाले आफ्ना पार्टीका नेता-कार्यकर्तालाई राहत तथा उद्धारमा लाग्न आफूले समन्वय गर्नुपरेको बताउनु भयो ।
नेपाली कांग्रेसका स्थानीय नेताहरु पनि बाटो अलपत्र परेका मजदुरहरुको सहयोगका लागि लागिरहेको उल्लेख गर्दै सहमहामन्त्री महतले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारलाई पनि यस विषयमा संवेदनशील बन्न आग्रह गरेका छन् ।








































