काठमाडौं, २० चैत २०७६ । नेपालमा कोरोना भाइरसका छैटौं संक्रमित भेटिएका छन्। कतार एयरवजको जहाजबाट गत चैत ४ मा काठमाडौं आएका यात्रुलाई कोरोना संक्रमण भएको हो।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार गत चैत ४ मा कतारको दोहा हुँदै काठमाडौं आएको क्युआर ६५२ नम्बरको उडानका अर्का यात्रुमा कोरोना संक्रमण देखिएको हो। योसँगै कतारको एकै उडानबाट आएका तीन यात्रुमा कोरोना संक्रमण देखिएको छ।
उनले काठमाण्डूको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण अनुसार छैटौँ व्यक्तिमा कोभिड-१९ पोजिटिभ देखिएको बताए।
यसअघि फ्रान्स हुँदै दोहाबाट काठमाडौं आएकी १९ वर्षीया युवती र बेल्जियबाट दोहा हुँदै काठमाडौं आएकी बागलुङकी २२ वर्षीया युवतीमा कोरोना पोजेटिभ पाइएको थियो।
यसअघि नेपालमा देखिएका कोभिड–१९ सङ्क्रमणका पाँचैवटा घटनामा विदेशबाट फर्किएका नेपालीहरू जोडिएका छन्।
नेपालमा हालसम्म १,१ ८४ जनामा कोभिड–१९ को परीक्षण गरिएको छ। त्यसमध्ये १,१७८ मा सङ्क्रमण नदेखिएको र पाँच जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ।
यसअघिका संक्रमितको परिवारमा संक्रमण नफैलिएको मन्त्रालयले जनाएको छ ।








































