काठमाडौं, १५ चैत २०७६ । नेपाली कांग्रेस डडेल्धुराका सभापतिसमेत रहेका सुदूरपश्चिमका प्रदेश सांसद कर्णबहादुर मल्लले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि तीन करोड रुपैयाँ प्रदेश सरकारलाई दिने घोषणा गरेका छन् ।
डडेल्धुरा ‘ख’ बाट निर्वाचित सांसद मल्लले निर्वाचन क्षेत्रको पूर्वाधार विकासका लागि सरकारले दिने तीन करोड रुपैयाँ सुदूरपश्चिममा कोरोना रोकथामको लागि सरकारलाई दिने घोषणा गरेका हुन् ।
“म डडेल्धुराको ख निर्वाचन क्षेत्रबाट निर्वाचित माननीयको हैसियतले सुदूरपश्चिम सरकारले मेरो निर्वाचन क्षेत्रमा पूर्वाधार विकासका लागि जुन तीन करोड रुपैयाँ छुट्टयाएको छ,” उनले भने, “त्यो रकम सुदूरपश्चिमवासीको जीउज्यान, स्वास्थ्य बचाउनका लागि र रोकथामका लागि खटिएका सबैको मनोवल उच्च बनाउनका लागि सरकारलाई दिने घोषणा गरेको हुँ ।”
प्रदेश सरकारले महामारीबाट जोगिन घोषणा गर्ने प्याकेजमा रकम अपुग भए आफूले घोषणा गरेको रकम प्रयोग गर्न अर्थमन्त्रीलाई जानकारी गराइसकेको सांसद मल्लले बताए ।
उनले कोरोना भाइरसको महामारी नियन्त्रण नहुँदासम्म आफूले सरकारबाट पाउने सम्पूर्ण सेवा–सुविधा पनि सरकारलाई सहयोग स्वरुप प्रदान गर्ने बताए । “म त यो महामारी नियन्त्रण नहुँदासम्म मैले पाउने सम्पूर्ण सेवा सुविधा पनि सरकारलाई सहयोग गर्न तयार छु । तर त्यसको खर्च पारदर्शी हुनपर्छ,” मल्लले सँग भने । उनले कांग्रेस र अन्य दलका सांसदहरुलाई पनि विपद्को घडीमा सरकारलाई सक्दो सहयोग गर्न पनि आग्रह गरे ।








































