बेइजिङ, १४ चैत २०७६ । चीनले सबैजसो विदेशीलाई आफ्नो मुलुक प्रवेशमा रोक लगाउने भएको छ ।
आयातित केसबाट हुने कोरोना भाइरसको संक्रमण रोक्ने प्रयास अन्तर्गतको यो नियम शुक्रबार मध्यरातदेखि सुरु हुने हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।
अन्तरिम उपायको रुपमा विदेशीलाई भिसा जारी गर्ने काम स्थगित गर्ने चिनियाँ विदेश मन्त्रालयले बिहीबार अबेर जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कूटनीतिज्ञको हकमा भने यने नियम लागू नहुने प्राप्त समाचारमा उल्लेख छ ।
‘विश्वभरी नयाँ कोरोना भाइरसको संक्रमण विस्तारको गतिलाई हेरेर चीनले अहिले चीनको वैध भिसा र आवासीय अनुमति भएका विदेशीको प्रवेश अस्थायी रुपमा स्थगित गर्ने निर्णय गरेको छ,’ मन्त्रालयले भनेको छ ।
मन्त्रालयले यसलाई वर्तमान महामारीको अवस्थालाई जवाफ दिने क्रममा थुप्रै मुलुकहरुले जस्तै गरी लिनुपरेको अस्थायी उपाय भनेको छ ।
कोरोना भाइरसको महामारी केही महिनाअघि चीनबाटै सुरु भए पनि यसको केन्द्रबिन्दु चीनबाट स्पेन, इटली हुँदै अहिले अमेरिका बनन पुगेको छ । अमेरिकाका ८३ हजारभन्दा बढीमा यसको संक्रमण देखिएको छ ।
चीनमा भने मार्च २३ मा सकिएको एक हप्तामा जम्मा २३३ नयाँ संक्रमित भेटिएका थिए । सोही अवधिमा चीनबाहिर एक लाख ६६ हजार नयाँ संक्रमित भेटिएका थिए ।
पछिल्लो समय चीनभित्र संक्रमणका नयाँ केस ज्यादै कम भेटिएको र विदेशबाट आउने संक्रमित बढी भएपछि बेइजिङले यो कदम चालेको हो । चीनको उड्डयन प्राधिकरणले अन्य मुलुकबाट आउनेको संख्या नियन्त्रण गर्न कदम चालिसकेको छ ।
आइतबारदेखि हरेक चिनियाँ वायुसेवालाई उसले उडान भर्ने हरेक मुलुकको एउटा सहरमा हप्तामा एकपटक मात्र उडान भर्न दिइनेछ । विदेशी वायुसेवालाई पनि चीनमा हप्तामा एउटा उडान मात्र भर्न दिइने छ ।








































