एजेन्सी, १३ चैत २०७६ । कोरोना भाइरसबाट उत्पन्न आर्थिक संकटसँग जुध्न अमेरिकामा हरेक करदातालाई १२ सय डलर दिने लगायतका विषय समेटिएको प्याकेज सिनेटबाट पारित भएको छ । बुधबार मध्यरात प्याकेजसहितको विधेयक पारित भएको हो। मतदानमा उपस्थित सबै ९६ सिनेटरहरुले विधेयकको पक्षमा मतदान गरेका थिए ।
विपक्षमा एकमत पनि नपरेकाले यो विधेयक सर्वसम्मतले पारित भएको छ। शुक्रबार बिहान ९ बजे यो विधेयक मतदानका लागि हाउसमा लगिने तय भएको छ । यदि हाउसबाट पनि पारित भएमा यो अमेरिकी इतिहासकै सबैभन्दा ठूलो आपतकालीन राहत प्याकेज हुनेछ ।
२ खर्ब अमेरिकी डलरको यो प्याकेजमा एक करदातालाई १२ सय डलर, विवाहितलाई २४ सय डलर र १७ बर्षभन्दा कम उमेरका परिवारका सदस्यका लागि थप ५ सय डलर प्रदान गरिने उल्लेख गरिएको छ । वार्षिक ७५ हजारभन्दा कम आम्दानी हुने एकजनालाई १२ सय डलर प्रदान गरिने छ। यदि दम्पत्तिले ज्वाइन्ट ट्याक्स फाइल गरेका छन् र उनीहरुको आम्दानी वार्षिक १ लाख ५० हजार भन्दा कम रहेको छ भने उनीहरुले २४ सय डलर प्राप्त गर्नेछन् ।








































