काठमाडौं, ११ चैत २०७६ ।नेपालभर कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावनालाई ध्यानमा राखी आजदेखि अत्याश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन सरकारले दिएको आदेशको कार्यान्वयन मुलुकभर प्रभावकारी देखिएको छ ।
बिहानैदेखि मानिसको आवतजावत रोकिएको छ भने सर्वसाधारणको पूर्ण समर्थन देखिएको छ । सामाजिक सञ्जालमार्फत सर्वसाधारणले सरकारको निर्णयको खुलेर प्रशंसा गरेका छन् । उनीहरुले आदेश कडाइका साथ पालना गराउनतर्फ सामाजिक सञ्जालबाट सुरक्षा निकायको ध्यानाकर्षणसमेत गराएका छन् । सुरक्षा निकाय पनि आदेशको पालना गराउन कडाइका साथ लागेको छ । आदेश कार्यान्वयनका लागि बिहानैदेखि प्रहरीको सक्रियता बाक्लिएको छ ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले भन्नुभयो, “आम पब्लिकहरुबाट आदेशको पालना गरिरहेको पाइन्छ, जानी नजानी कतै पालना नगरेकालाई सम्झाइबुझाई गरेर फर्काएका छौँ ।” उहाँले मुलुकभर नै आवश्यकतानुसार टोली परिचालन गरेर आदेशको पालनामा प्रहरी सक्रिय भएको जानकारी दिनुभयो । प्रदेश र स्थानीय तहका प्रहरी पनि आवश्यक क्षेत्रमा परिचालन भइरहेको उहाँले बताउनुभयो ।
काठमाडौँ उपत्यकामा बिहानैदेखि प्रहरी चोकचोकमा खटिएर सर्वसाधारणलाई घरबाट ननिस्कन आग्रह गरिरहेका छन् । प्रहरीले उपत्यकाका चोक तथा भित्री सडकमा समेत माइकिङ गरेर सावधानी अपनाउन र घरबाट ननिस्कन अनुरोध गरिरहेको छ । “सावधानी अपनाउनुहोला, घरबाट ननिस्किनुहोला” भन्दै प्रहरीले खुलेका पसलसमेत बन्द गर्न भनिरहेको छ ।
ट्राफिक प्रहरी पनि आवश्यक व्यवस्थापनमा बिहानैदेखि खटिएको छ । महानगरीय प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले सरकारी आदेशको पालनाका लागि सम्पूर्ण ट्राफिक जनशक्ति परिचालन गरिएको बताउनुभयो । अत्यवश्यक सेवा र पासका गाडी मात्रै चलेकाले अन्य गाडी चल्नबाट रोक लगाइएको र सर्बसाधारणलाई घरबाट ननिस्कन आग्रह गरिएको उहाँले बताउनुभयो ।








































