काठमाडौं, २५ फागुन २०७६ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले फागु पर्वलाई लक्षित गरी काठमाडौं उपत्यकामा विशेष सुरक्षा योजना लागु गरेको छ।
पर्वलाई दुर्घटनारहित सुरक्षित र मर्यादित बनाउन उपत्यकाको अधिकांश चोक, गल्ली तथा सडकमा सुरक्षा जाँच कडा पार्ने महाशाखाले जनाएको छ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले मादक पदार्थ सेवन गरी जथाभावी सवारी चलाउने, मोटरसाइकलमा तीनजना राख्ने, तीव्र गतिमा चलाउने, जिकज्याक वा लापरवाहीका साथ सवारी चलाउने, हेल्मेट नलगाई मोटरसाइकल तथा स्कुटर चलाउने र ठूलो आवाज निकालेर वा मोडिफाई गरी सवारी साधन चलाउनेलाई कारवाही गर्न विशेष जाँचको ब्यवस्था मिलाइएको बताए।
प्रमुख ढकालका अनुसार उपत्यकाका ७६ स्थानमा चेकिङ प्वाइन्ट र १४ वटा मोबाइल भ्यानले गस्ती तथा मोबाइल चेकिङ गरिने छ। उनले भने, ‘मुख्यतयः उपत्यकामा दुर्घटना कम गर्ने उद्देश्यका साथ नियमितबाहेक थप ट्राफिक प्रहरीहरू तथा मोटरसाइकलमा समेत ट्राफिक प्रहरीहरू गरी जम्मा ५६६ जना ट्राफिक प्रहरी परिचालन गरिनेछ।’








































