काठमाडौँ २३ फागुन २०७६ । गृह मन्त्रालयले सीमा नाकामा निगरानी बढाउने भएको छ। गृहमन्त्री रामबहादुर थापाले सुरक्षा निकायलाई सीमा नाकामार्फत आवतजावत गर्नेमाथि निगरानी बढाउन निर्देशन दिएका हुन् ।
मन्त्रालयमा शुक्रबार बसेको बैठकले कोरोना भाइरस (कोभिड १९) को प्रभाव न्यूनीकरण गर्ने पूर्वतयारीसमेत गर्ने निर्णय गरेको जनाइएको छ । यससँगै गृह मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा स्वास्थ्य परीक्षण गर्न सहयोग गर्ने र कोरोना भाइरस सम्बन्धी जनचेतना बढाउने सूचनाहरु सम्प्रेषण गर्ने भएको छ ।
दैनिक आवश्यक पर्ने अत्यावश्यक सामाग्रीको आपूर्ति व्यवस्थापनमा सहजीकरण गर्ने र महङ्गी तथा कालाबजारीको नियन्त्रण गर्न बजार अनुगमन गर्ने पनि बैठकले निर्णय गरेको छ ।
यो सँगै भाइरस रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समितिको कार्यमा पनि समन्वय गरिने भएको छ ।








































