काठमाडौँ, २० फागुन २०७६ । नेपाल वायुसेवा निगमको वाइड बडी विमानले सोमबारदेखि जापानको नारितामा उडान सुरु गरेको छ ।यसै खुशीमा सामेल हुन नेपालको १५ सदस्यीय जम्बो टोली जापान भ्रमणमा निस्किएको छ । यसअघि विवादीत रुपमा जापानको ओसाकामा उडान गर्दै आएकोमा रुट ‘सिफ्ट’ गरेर नारितामा उडान थालेको हो ।
काठमाडौँ–नारिता उडान उद्घाटनका क्रममा एयरलाइन्सले प्रधानमन्त्रीका प्रेस संयोजक, मन्त्रीका पिएदेखि लिएर सांसद, सञ्चारकर्मीको जम्बो टोलीलाई नारिता भ्रमण गराएको छ ।
पछिल्लो समय जापानमा समेत कोरोनाभाइरसको संक्रमण देखिएको छ । कोरोनाभाइरसको संक्रमण देखिएको र संक्रमितहरुको मृत्युसमेत हुन थालेपछि जापानले देशभरका सबै विद्यालय बन्द गर्ने घोषणा गरिसकेको छ भने केही क्षेत्रमा आपत्कालसमेत घोषणा गरेको छ ।
कोरोनाभाइरसको संक्रमण भएका मुलुकमा अन्तर्राष्ट्रियस्तरमा धमाधम उडान कटौति भइरहेको छ । कयौँ मुलुकले चीन, दक्षिण कोरिया, जापान लगायतका मुलुकमा उडानसेवा कटौति गरे पनि नेपालले समवेदनशील अवस्थाका बाबजुद कोरोना प्रभावित मुलुक जापानमा व्यावसायिक सफलता खोज्न उद्यत देखिन्छ ।
जापानबाट कुनै प्रकारको ‘ट्राभल एडभाइजरी’ जारी नभएका कारण पूर्वयोजना अनुसार नै टोली जापान भ्रमणमा निस्किएको हुनसक्छ।
नारिता उडान सुरु गरेको अवसरमा निगमले जोखिम मोलेरै १५ जनालाई सम्पूर्ण खर्च व्यहोर्दै जापान लगेको छ । जबकि विश्व स्वास्थ्य संगठनले कोरोनाप्रति सचेत हुन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्दै आएको छ । सचेत हुनुको अर्थ संक्रमण देखा परेका मुलुकमा आवत जावत नगर्ने, ती मुलुकका नागरिकको आगमनमा सतर्कता अपनाउने लगायत नै हो ।
को–को गए जापान ?
निगमले प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईँ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका पिए प्रेम गुरागाईँ, सांसदहरु कृष्णप्रसाद दाहाल, गणेशकुमार पहाडी, सरलाकुमारी यादवलाई नारिता भ्रमणमा लगेको छ ।
निगमकै प्रवन्ध निर्देशक गणेशबहादुर चन्दको नेतृत्वमा निगमको वाणिज्य विभाग निर्देशक टङ्कनिधि दाहाल, इन्जिनियर अच्युतराज पहाडी लगायतका कर्मचारी पनि नारिता भ्रमणमा गएका छन् ।
यस अतिरिक्त सञ्चारकर्मीहरु कालिका खड्का, राजेश राई, टेलिभिजन कार्यक्रम सञ्चालिका निमाकुमारी काफ्ले पनि नारिता गएका छन् । यस्तै, खगेन्द्र अधिकारी, बेन्जु सुवेदी, बोधमाया यादव, प्रदेश १ का प्रदेशसभा सदस्य बलबहादुर साम्सुहाङ पनि नारिता गएका छन् ।








































