एजेन्सी, १९ फागुन २०७६ । म्यान्चेस्टर सिटीले एस्टन भिल्लालाई हराउँदै लगातार तेस्रो पटक काराबाओ कपको उपाधि जितेको छ । सिटीले पाँच वर्षमा चौथो पटक यो उपाधिमाथि कब्जा जमाएको हो ।
आइतबार वेम्ब्ले मैदानमा भएको खेलमा सिटीले २–१ गोलअन्तरले खेल आफ्नो पक्षमा पार्न सफल रह्यो । खेलको २० औँ मिनेटमा सर्जियो अगुएरोले सिटीलाई अग्रता दिलाए भने १० मिनेटपछि रोड्रीले सिटीको अग्रता दोब्बर बनाए ।
पहिलो हाफको अन्त्यतिर मब्वाना समाटाले भिल्लाका लागि गोल फर्काए पनि त्यसपछि खेलमा कुनै गोल हुन सकेन र सिटीले खेल आफ्नो पक्षमा पार्न सफल रह्यो ।
लिभरपुलपछि यो उपलब्धि हात पार्ने सिटी दोस्रो टोली हो ।
सिटीले अब लिगमा म्यान्चेस्टर युनाइटेडको सामाना गर्नेछ भने भिल्लाले सोमबार लेस्टर सिटीसँग भिड्नेछ ।









































