काठमाडौं, १९ फागुन २०७६ । काठमाण्डूस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्रमा कोरोनाभाइरसको सङ्क्रमणसँग मिल्दाजुल्दा लक्षणसहित सोमवार बिहानसम्म पाँच व्यक्ति भर्ना भएको अधिकारीहरूले बताएका छन् ।
चीन र दक्षिण कोरियाबाट फर्किएका उनीहरू ज्वरो र रुघाखोकीजस्ता लक्षण देखिएपछि उपचारका लागि अस्पताल आएको केन्द्रका निर्देशक डा. वासुदेव पाण्डेले बताउनु भयो ।
उहाँहरूमा “शङ्कास्पद बिरामी”को मापदण्डमा परेकाले निगरानीमा राखिएको डा. पाण्डेले बताउनु भयो ।
सरकारले कोरोनाभाइरसको सम्भावित जोखिमलाई ध्यान दिँदै सचेतना अभियान अघि बढाउनुका साथै थप सतर्कताका उपाय अवलम्बन गर्न लागिएको जनाएको छ।








































