काठमाडौं, २८ माघ २०७६ । नेपाल चिकित्सक संघको हालै सम्पन्न निर्वाचनको मत परिणाममा सबैभन्दा बढी मत अध्यक्षमा विजयी भएका डा लोचन कार्कीको आएको छ।
निर्वाचनमा कुल ६ हजार १ सय ५७ मत खसेको थियो। जसमा डा कार्कीको ४ हजार १ सय ११ मत आएको छ। डा कार्कीले आफ्ना प्रतिस्पर्धीभन्दा २ हजार १ सय ३२ बढी मत ल्याएका छन्।
मतगणना जारी रहँदा उपत्यकाबाहिरको गणना हुँदासम्म उपाध्यक्षमा विजयी भएका डा अनिलविक्रम कार्कीले सबैभन्दा बढी मत ल्याएका थिए। तर, उपत्यकाको गणना अगाडि बढ्दै जाँदा डा कार्कीले मत बढ्दै गएको हो।
अध्यक्षमा विजयी डा कार्कीपछि सबैभन्दा धेरै मत उपाध्यक्षमा विजयी भएका डा अनिल कार्कीको मत आएको छ। उनको ३ हजार ९ सय ४५ मत आएको छ।
त्यसपछि सबैभन्दा धेरै मत ल्याउनेमा सहकोषाध्यक्षमा विजयी डा विश्वराज दवाडी रहेका छन्। उनको ३ हजार ९ सय ३५ मत आएको छ।
यस्तै, सहसचिवमा विजयी डा निरजकुमार सिंहको ३ हजार ७ सय ९० मत आएको छ।
सदस्यमा सबैभन्दा धेरै मत ल्याएर डा रितेश थापा विजयी भएका छन्। उनको ३ हजार ७ सय १७ मत आएको छ। त्यसपछि डा नन्दाकुमारी गुरुङको ३ हजार ३ सय १६ मत आएको छ।








































