गोरखा, २३ माघ २०७६ । लिगलिगकोटदेखि बारपाकसम्म अल्ट्रा म्याराथुन दौड हुने भएको छ । भूकम्पपछि असुरक्षित भनिएको पर्यटन क्षेत्र सुरक्षित भएको सन्देश दिन गोरखामा अल्ट्रा म्याराथन आयोजना हुने भएको छ ।
ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) र धार्चे मनास्लु पर्यटन विकास समितिको आयोजना तथा नगरपालिका र गाउँपालिकाको सहयोगमा म्याराथन आयोजना गर्न लागिएको हो ।
भूकम्प गएको दिन बैशाख १२ गते म्याराथन हुने धार्चे मनास्लु विकास समितिका अध्यक्ष साने गुरुङले जानकारी दिनुभयो । उनका अनुसार पालुङटार नगरपालिकाको लिगलिगकोटदेखि बारपाकसम्म दौड हुनेछ। भूकम्पको स्मृतिमा विदेशी धावकसमेत ल्याएर म्याराथन गर्नसके अन्तराष्ट्रिय जगतमा गोरखाको पर्यटन क्षेत्र सुरक्षित भएको सन्देश सजिलै जाने उनको विश्वास छ ।
लिगलिकोटबाट सुरु भएको दौड सिरान्चोक गाउँपालिका, अजिरकोट गाउँपालिका छिचोलेर बारपाक सुलिकोट पुग्नेछ। म्याराथन ५८ किलोमिटरभन्दा बढी हुने गुरुङले बताए। म्याराथनको तयारी सुरु भइसकेको जानकारी दिनुभयो ।
‘नेपालको पर्यटन क्षेत्र निकै असुरक्षित छ भन्ने प्रचार विश्वमा पुगेको छ। भूकम्पले हाम्रो पर्यटन निकै सुस्तायो,’ ‘अब यसलाई फेरि उठाउन म्याराथन आयोजना गरेका हौं । एकैपटक सयौं धावक गोरखा आइपुग्दा विश्वको ध्यान केन्द्रित हुनेछ ।’ गोरखाको तल्लो क्षेत्र र माथिल्लो क्षेत्रबीच समन्वय बढाउन पनि यो कार्यक्रम प्रभावकारी हुनेछ , भन्नुभयो ।









































