काठमाडौं, १३ माघ २०७६ । नेविसंघमा विधान मिचेर तदर्थ समिति ल्याउन लागेपछि पूर्वमहामन्त्री कुन्दनराज काफ्ले समुहले सोमबार आमरण अनसन सुरू गरेको थियो ।
पार्टी केन्द्रीय कार्यालय सानेपाको मुख्य ढोकाछेउ एक महिनादेखि रिले अनसन जारी राखेपनि नेतृत्वले विधान मिचेर एक सय २७ सदस्यीय नेविसंघ तदर्थ समिति ल्याउन खोजेपछि आमरण अनसन सुरू भएको थियो ।
पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठीलगायत अनसनमा बसेको केहीबेरपछि केन्द्रीय समिति बैठकमा भाग लिन सभापति शेरबहादुर देउवा पार्टी कार्यालय आइपुगे ।
सभापति आएपछि काफ्ले समुहले विधान मिच्न नपाइने भन्दै नारा लगाए । देउवा गाडीबाट झर्ने वित्तिकै देउवा पक्षका नेविसंघ अनसन बसिरहेको काफ्ले समुहमाथि जाइलाग्यो ।
धकेलाधकेलपछि केहीबेरमा देउवा पक्षका विद्यार्थीले आमरण अनसन बसेका विद्यार्थीलाई गमला र इँटा हाने। कमल पन्त र लक्ष्मी बोगटी घाइते छन् । उनीहरूको सानेपाकै स्टार अस्पतालमा उपचार भइरहेको छ ।
देउवा पक्षका नेविसंघले आमरण अनसन लेखेको ब्यानरसमेत च्यातिदिएका छन्। नेविसंघ काठमाडौं जिल्ला अध्यक्ष मनोज बैद्य, विकास केसीलगायतले आमरण अनसनरत विद्यार्थीमाथि आक्रमण गरेको स्रोतको दावी छ ।
नेविसंघमा ३२ वर्षे उमेरहद लागू गर्नुपर्ने र अहिले नै गर्न नहुने पक्षबीच विवाद छ। आमरण अनसन बसेका एक विद्यार्थी नेता मनिष सिंखडाले सेतोपाटीसँग भने, ‘सभापति देउवाकै अघि हामीमाथि गमला र इँटाले हाने, ब्यानर च्यातिदिए।’ सभापति देउवाविरूद्ध नाराबाजी गरेपछि आफूहरूले अर्को पक्षलाई सम्झाएको बताए।
‘सभापतिविरूद्ध किन नाराबाजी गरेको भनेर धकेलाधकेल भएको हो। इँटा, गमला हानेको छैन,’ उनले भने।








































