काठमाडौं, माघ ९ गते । चिनियाँ शहर वुहानले कोरोना भाइरसको संक्रमण फैल्ने सम्भावनालाई लिएर सार्वजनिक यातायात बन्द गरेको छ ।
करीब एक करोड दश लाख जनसंख्या रहेको वुहान शहरका स्थानीयलाई घर नछोड्न सल्लाह दिइएको छ । कोरोना भाइरसको संक्रमणले चीनमा १७ जनाको मृत्यु भइसकेको छ । पाँचसय जनामा उक्त भाइरसको संक्रमण रहेको बीबीसीले उल्लेख गरेको छ । यद्दपी चिनियाँ दूताबासले भने भाइरसको संक्रमण ४०० जनामा मात्रै रहेको प्रष्ट्याएको छ ।
त्रिभुवन विमानस्थलमा सजगता
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर नेपाल आउने पर्यटक तथा स्वदेशी आगन्तुकलाई पनि विशेष निगरानी राखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा. हेमन्त ओझाले बताउनुभयो । उहाँले विश्व स्वास्थ्य संगठन लगायतका अन्तर्राष्ट्रिय समुदायले तात्कालै अनिवार्य ‘स्क्रिनिङ’ सम्बन्धमा कुनै परिपत्र वा आग्रह नगरेकोले सामान्य अवस्थामै सूचनामूलक जानकारीहरु विमानस्थलमा उपलब्ध गराइएको बताउनुभयो ।
विमानस्थलमा रहेको सहायता केन्द्रलाई सक्रिय बनाइएको छ । संक्रमणको शंका हुने यात्रुकै आग्रहमा शरीरको तापक्रम लिनुका साथै जोखिम भए शुक्रराज ट्रपिकल अस्पताल पठाउने व्यवस्था गरिएको डा. ओझाले बताउनुभयो ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले कोरोना भाइरसको संक्रमणबारे स्वास्थ्य विभाग, रोग नियन्त्रण महाशाखा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र नागरिक उड्डयन प्राधिकरणबीच निरन्तर बैठक र छलफल भइरहेको जानकारी दिनुभयो ।
उद्गम वुहान शहर
कोरोना भाइरसको संक्रमणले चीनमा नौ जनाको मृत्यु भइसकेको बीबीसीले जनाएको छ । वुहान शहरबाट सुरु भएको संक्रमण चीनको अन्य प्रान्तहरुसँगै अमेरिका, थाइल्याण्ड र दक्षिण कोरियामा पनि फैलिएको छ । जङ्गली जनावरको अवैध कारोबार हुने वुहान शहरको ‘सी फुड’ बजारबाट उक्त संक्रमण फैलिएको हुनसक्ने अनुमान गरिएको छ ।
हालसम्म ४४० जनामा कोरोना भाइरसको संक्रमण फेला परेको चिनियाँ अधिकारीहरुले जनाएका छन् । चिनियाँ अधिकारीहरुले संक्रमित बिरामी करीब दुई हजार १९७ जनाको सम्पर्कमा आएको जानकारी दिएका छन् ।








































