काठमाडौं, १ माघ २०७६ । प्रतिनिधिसभाका उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले संस्कृति तथा सम्पदाको संरक्षणबाटै नेपालको पहिचान विश्वसामु पुऱ्याउन सकिने बताउनुभएको छ ।
नुवाकोटका विभिन्न देवालय तथा सम्पदाको मंगलबार (२९ पुस) गर्नुभएको भ्रमणपश्चात उपसभामुख तुम्बाहाम्फेले नेपालका प्राकृतिक सौन्दर्यता र धार्मिक शक्तिपीठ तथा ऐतिहासिक सम्पदाको संरक्षणमा सम्बन्धित सरकार र सरोकारवाला पक्षले ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।
उहाँले नुवाकोटको भैरवीदेवी, वनदेवी, जालपादेवीलगायतका मन्दिरसहित साततले दरबार क्षेत्र, पृथ्वीनारायण शाहको स्मारकको भ्रमणपश्चात नेपाल भ्रमण वर्षलाई आकर्षित गर्ने पर्याप्त सम्भावना नुवाकोटमा भएकाले प्रचार र प्रवद्र्धनमा जोड दिन लाग्नुपर्ने बताउनुभयो ।
भूकम्पले पु¥याएको क्षति साततले दरबारसहित दरबार क्षेत्रका देवालयको ढिलाई भए पनि पुनःनिर्माण शुरु भएको प्रति खुशी जनाउँदै उहाँले नुवाकोटमा पर्यटक भित्र्याउन आफ्नो तर्फबाट सहयोगको प्रतिबद्धता जनाउनुभयो ।
माघे सक्रान्ति पर्वको अवसरमा गोरु जुधाई प्रदर्शनीको अवलोकन गर्न नुवाकोट पुग्नुभएका उपसभामुख डा तुम्बाहाम्फेले नेपालमा सम्पदा तथा धार्मिकस्थलको संरक्षण तथा व्यवस्थापनसम्बन्धी प्रभावकारी कानूनको अभाव रहेको गुनासो गर्नुभयो ।
पर्व, जात्रा तथा मेला सञ्चालनका लागि प्रभावकारी नीति तथा व्यवस्था नहुँदा संस्कृति कमजोर बन्दै गएकाले विभिन्न तहका सरकार र स्थानीयवासीबीच एकता गरेर दायित्व विभाजन गर्नुपर्ने आवश्यकता देखिएको उहाँको सुझाव छ ।








































