काठमाडौं, १९ पौष २०७६ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले ‘नेपाल भ्रमर्ण वर्ष-२०२०’ को भव्य शुभारम्भ समारोहमा आम जनसमुदायको अभूतपूर्व र उत्साहजनक सहभागिताले थप उत्साहित बनाएको बताउनु भएको छ ।
‘नेपाल भ्रमर्ण वर्ष–२०२०’ मूल आयोजक समितिका अध्यक्षसमेत रहनुभएका मन्त्री भट्टराईले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भ्रमण वर्षको भव्य उद्घाटन समारोहमा सक्रियता जनाएर उत्साह प्रदान गर्ने सम्पूर्ण महानुभावलाई हार्दिक धन्यवाद ज्ञापन गर्नु भएको हो ।

उहाले भ्रमण वर्षलाई राष्ट्रिय उत्सवको रुपमा मनाउने सरकारको संकल्पको सुखद् सुरुआत भएको बताउनु भयो । सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । “ संङ्ख्या त छँदैछ, हामीले त्योभन्दा बढी विश्व समुदायमा नेपालको बारेमा दिइने सन्देश र देशभित्र पैदा गर्ने जागरण र सचेतनालाई प्रमुख मानेका छौँ । यसका लागि समुद्घाटन कार्यक्रममा जस्तै गरी अभियान भरि सबैको यस्तै सहयोग र सहभागिताको अपेक्षा सरकारले गरेको छ”, पर्यटनमन्त्रीले विज्ञप्तिमा उल्लेख गरिएको छ ।
भ्रमण वर्षको यही ७ जनवरी २०२० विश्वभरी नै भव्य उद्घाटन हुने र त्यसलाई सम्पन्न गर्न विदेशस्थित नेपाली कुटनीतिक निगोग तथा गैरआवासीय नेपाली सङ्घलगायत प्रवासमा रहेका नेपाली शुभचिन्तकलाई हार्दिक आग्रह गर्नु भएको छ ।
पर्यटन नेपालको अर्थतन्त्रको प्रमुख आधारमध्येको एक हो । मुलुकको राष्ट्रिय आकांक्षा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सपना पूरा गर्नका लागि पर्यटनलाई प्रमुख आधार मानिएको उल्लेख गर्दै मन्त्री भट्टराईले यसका लागि आगामी दिनमा पनि यस्तै सहभागिता, सक्रियता र प्रतिबद्धता अपेक्षा गरिएको उल्लेख गर्नुभयो । “भनिन्छ, ‘हजार माइलको यात्रा एक पाइलाबाट सुरु हुन्छ ।’ समुद्घाटन कार्यक्रमलाई हामीले हजार माइलको यात्राको भव्य र सुखद् शुरुआत मानेका छौँ । अन्तमा हजार माइलको उज्यालो यात्रामा यही उचाइका साथ सहयोग, सहभागिता र प्रतिबद्धताका साथ निरन्तर सहभागी भई दिन हुन अपिलसमेत गर्दछु” विज्ञप्तिमा भनिएको छ ।

पर्यटनमन्त्री भट्टराईले विशेष गरी काठमाडौँको दशरथ रङ्गशालामा उपस्थित भएर कार्यक्रमको समुद्घाटन गरिदिनुहुने राष्ट्रपति विद्यादेवी भण्डारीप्रति हार्दिक आभार प्रकट गर्नु भएको छ । भ्रमण वर्षको मार्गदर्शनका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीप्रति पनि आभार प्रकट गर्नु भएको छ । पर्यटनमन्त्रीले तयारीदेखि उद्घाटनसम्म सहभागिता जनाउने नेपालस्थित विभिन्न देशका राजदूत र वैदेशिक साझेदार संस्थाका प्रमुखप्रति आभार ब्यक्त गर्नु भएको छ ।
भ्रमण वर्षको अङ्ग्रेजी नयाँ वर्ष सन्–२०२० जनवरी १ तारिख (पुस १६ गते) काठमाडौँको दशरथ रङ्गशालासँगै सातै वटा प्रदेशको मुख्य पर्यटकीय स्थानमा उद्घाटन भएको थियो ।
दशरथ रङ्गशालासँगै प्रदेश नं १ को मोरङस्थित विराटनगर रङ्गशाला, प्रदेश–२ को जनकपुरस्थित जानकी मन्दिर जनकपुरधाम, प्रदेश–३ को चितवनस्थित सौराहा र गण्डकी प्रदेशको कास्कीस्थित लेकसाइड पोखरामा समुद्घाटन भएको थियो ।
यसैगरी, प्रदेश नं ५ को बर्दियास्थित ठाकुरद्वारा, कर्णाली प्रदेशको सुर्खेतस्थित बुलबुल ताल र सुदूरपश्चिम प्रदेशको धनगढीमा भ्रमण वर्षको भव्य समुद्घाटन भएको पर्यटन मन्त्रालयले जनाएको छ ।








































