काठमाडौं, १३ पौष २०७६ । सन् २०१९ का शक्तिशाली पासपोर्ट भएका मुलुकमा जापान र सिंगापुरका पहिलो नम्बरमा परेका छन् । हेन्ली पासपोर्ट इन्डेक्सले सन् २०१९ मा सार्वजनिक गरेको शक्तिशाली पासपोर्टको सूचीमा जापान र सिंगापुर एक नम्बरमा परेका छन् । दुवै मुलुकको पासपोर्टले १९० मुलुकमा फ्रि-भिसाको पहुँच छ ।
हेन्ली पासपोर्ट सूचकांकले वार्षिक रुपमा हरेक मुलुकको यात्रा पहुँचलाई आधार बनाएर पासपोर्टको मूल्यांकन गर्छ । त्यसैगरी दक्षिण कोरिया, फिनल्यान्ड र जर्मनीको पहुँच १८८ मुलुकमा छ । यी तीनवटै मुलुकका पासपोर्ट दोस्रो नम्बरमा छन् ।
पाकिस्तनले उच्च प्रतिबन्धात्मक भिसानीति परिवर्तन गर्दा फिलल्यान्ड लाभान्वित भएको हो । पाकिस्तानले फिनल्यान्ड, जापान, माल्टा, स्विट्जरल्यान्ड र युनाइटेड अरब इमिरेट्सलगायत ५० मुलुकलाई विद्ययुतीय यात्रा अनुमति प्रदान गरेको छ ।
त्यसैगरी, युरोपियन मुलुक डेनमार्क, इटाली र लक्जेमबर्गका पासपोर्ट तेस्रो स्थानमा छन् । यी तीन मुलुकका पासपोर्टले १८७ मुलुकमा फ्रि-भिसा अर्थात भिसा अन-अराइभलमार्फत यात्राको अनुमति छ । त्यसैगरी फ्रान्स, स्पेन र स्विडेन १८६ मुलुकको पहुँचसहित चौथो स्थानमा छन् ।








































