काठमाडौं, ११ मङ्सिर २०७६ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता अन्तर्गत महिला भलिबलमा नेपालले विजयी सुरुवात गरेको छ ।
बुधबार भएको उद्घाटन खेलमा बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपालले शानदार सुरुवात गरेको हो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा भएको खेलमा नेपालले पहिलो र दोस्रो सेट २५–९ ले सहजै जितेको थियो । अन्तिम सेटमा २५–११ ले जित निकाल्दै बंगलादेशविरुद्ध नेपालले एकपक्षिय जित निकाल्न सफल भएको हो ।
नेपालले समूह ‘ए’ मा २ अंक जोडेको छ । नेपालले समूह चरणको अन्तिम खेलअन्तर्गत बिहीबार भारतसँग भिड्नेछ ।









































