काठमाडौँ, २३ कात्तिक २०७६ । अतिक्रमणको चपेटामा परेको काठमाडौंको टुँडिखेल क्षेत्र संरक्षणका लागि दबाब शनिबार हजारौंको मानव साङ्लो बनाएर टुँडिखेललाई घेरिएको छ ।
विश्व स्वतन्त्रता दिवसको अवसर पारेर ‘अकुपाई टुँडिखेल’ अभियान अन्तर्गत तीन हजार बढी विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागितामा मानव साङ्लो बनाई टुँडिखेललाई घेरिएको हो ।

टुँडिखेल बचाउ अभियानअन्तर्गत नागरिक अभियान्ताले शनिबार बिहान आठ बजे टुँडिखेल घेराउ गरेका हुन् । साँस्कृतिक झाँकीसहित शुरु भएको अभियानमा राजनीतिक दलका नेता, कार्यकर्ता, नागरिक समाजका अगुवा, विद्यार्थी, कलाकार, सञ्चारकर्मीहरुको सहभागिता थियो ।
कार्यक्रममा सहभागीले ‘टुँडिखेल अब लिनेछ जनताले फिर्ता’ ‘पुर्खाको नासो जनताको हक’, ‘खुल्ला ठाउँलाई खुल्लै राखौं’, लगायतका नारा नारा अंकित प्लेकार्ड बोकेका थिए ।
सोही अवसरमा अकुपाई टुँडिखेल अभियान शनिबारदेखि सुरु भएको र तीन महिनासम्म हरेक शनिबार निरन्तर जारी रहने जानकारी दिइयो ।








































