काठमाडौं, १३ कात्तिक २०७६ । नयाँ पत्रिका दैनिकले पूर्व गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँ जुवा खालबाट पक्राउ परेको झुटा समाचार बनाउँदा कांग्रेस नेताको बदनाम भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका मकवानपुरका सभापति रहेका इन्द्र बानियाँबारे नयाँ पत्रिकाले झुटा समाचार प्रकाशित गरेको पाइएको छ ।
नयाँ पत्रिका अनलाइनको जुवाखालमा भेटिएको भन्ने समाचारप्रति प्रवक्ता विश्वप्रकाश शर्माले आपत्ति जनाएका छन् ।
आईतबार बिहान ११ बजे सामाजिक सञ्जाल ट्विटरमा प्रवक्ता शर्माले बानियाँ सहितको तस्वीर पोस्ट गर्दै आफूहरूसँगै केन्द्रीय कार्यालय सानेपामा रहेको स्पष्ट पारेका छन् ।
‘लेखेको पत्याउँ, कि देखेको पत्याउँ ?’ ट्वीटरमा लेख्दै उनले भने, ‘उहाँ नेका मकवानपुर सभापति, आज कांग्रेस केन्द्रीय कार्यालयमा नेपाल तरुण दलको कार्यक्रममा सँगै थियौं !’
काठमाडौं महानगरपालिका–३ पिपलमार्गस्थित विक्रम गौतमको घरमा जुवा खेलिरहेको अवस्थामा महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले शनिबार राति दुई करोड ६७ लाख नगदसहित २५ जना जुवाडेलाई पक्राउ गरेको छ ।








































