काठमाण्डौँ, ९ कात्तिक २०७६ । जापानी भाषा परीक्षा भोलि (आइतबार) देखि सञ्चालन हुने भएको छ । नर्सिङ केयर (केयर गिभर) का लागि पहिलो चरणको भाषा परीक्षा आइतबारदेखि हुन लागेको हो ।
जापानले रोजगारीका लागि आफ्नो मुलुक लैजाने नेपाली कामदारको छनोट गोला प्रथा )लक्की ड्र) बाट गरेको छ । जापान फाउनडेसनका अनुसार आवेदन दिएका मध्येबाट परीक्षाका लागि एक हजार मात्र छनोट भएका छन् ।
आकर्षक मानिने जापानमा काम गर्न जान चाहनेको संख्या व्यापाक हुने ठानेर नेपाली कामदार जापान लैजाने जिम्मेवारी पाएको जापान फाउन्डेसनले गोलाप्रथा अवलम्बन गरेको हो । हजारौंले अनलाइनमार्फत आवेदन दिएका भए पनि हजार जनाले मात्रै परीक्षा दिन पाउनेछन् ।
फाउन्डेसनले जापान जाने प्रक्रियाको पहिलो खुट्किलो जापानी भाषा परीक्षामा सहभागी हुने व्यक्ति छान्न यो तरिका अपनाएको हो ।
नेपाल सरकार र जापान सरकारबीच गत चैत ११ गते नेपाली श्रमिक पठाउने सम्बन्धी ‘सहयोग समझदारी’ (एमओसी) मा हस्ताक्षर भएको थियो ।
जापानले १४ वटा कार्यक्षेत्रमा विदेशी श्रमिक भित्र्याउने नीति अख्तियार गरेको छ । जापानले कृषि, नर्सिङ केयर, सवारी सधान मर्मतसम्भार, खाद्य सेवा उद्योग, निर्माण उद्योग, खाद्य पदार्थ र पेय पदार्थको उत्पादन, आवास उद्योग, मेशिनरी पार्ट उद्योग, माछा मार्ने र माछापालन उद्योग, औद्योगिक उपकरण उद्योग, इलेक्ट्रिक, इलेक्ट्रोनिक्स र सूचना प्रविधि उद्योग, बिल्डिङ सरसफाइ व्यवस्थापन, जहाज र जहाज पाटपूर्जा उद्योग एवं हवाई उद्योगमा श्रमिक लिने जनाएको छ ।
नेपाली श्रमिकलाई १४ वटै कार्यक्षेत्रमा खुला गरिएको भए तापनि कुन कुन क्षेत्रमा के कति सङ्ख्यामा नेपाली श्रमिकको माग हुने हो भन्ने विषय निश्चत हुनु बाँकी रहेको श्रम मन्त्रालयले जनाएको छ ।








































