काठमाडौं, ७ कात्तिक २०७६ । नेपाली काँग्रेस दैलेखका उपसभापति भुपेन्द्रजंग महतको भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचारका क्रममा बुधबार बेलुका निधन भएको छ । डेंगु संक्रमणपछि उनको एपोलो अस्पतालमा उपचार भइरहेको थियो ।
भारतको मुम्बई भ्रमणमा रहेका महत विरामी परेपछि दिल्लीमा उपचारका लागि लगिएको नेपाली काँग्रेस दैलेख क्षेत्र नम्बर २ का सभापति तथा दुल्ल नगरपालिकाका मेयर घनश्याम भण्डारीले बताए । उपसभापति महतको निधनपछि नेपाली काँग्रेस दैलेखको आकस्मिक बैठक बिहीबार बस्न लागेको क्षेत्रीय सभापति भण्डारीले जानकारी दिए ।
विभिन्न चाड पर्वका अवसरमा काँग्रेसको आयोजना हुने सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिने उनले बताए । दिवंगत महतको शव ल्याउनका लागि परिवारका सदस्यहरु दिल्ली गएको जनाइएको छ । महत नेविसंघ दैलेखको सभापति र तरुण दल दैलेखको पनि सभापति भएका थिए ।








































