काठमाडौँ, ७ कात्तिक २०७६ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले तीन वषभित्र सबै नेपालीको घरमा बिजुली बल्ने बताउनुभएको छ । भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको नारायणी नदी तटबन्धनसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उहाँले यस आर्थिक वर्षमा ४१ जिल्ला पूर्ण विद्युतीकरण हुने बताउनुभयो ।
मन्त्री पुनले सो कामका लागि चालु आर्थिक वर्षमा रु २८ करोड बजेट छुट्टा्याइएको बताउनुभयो । उहाँले ४१ जिल्लामध्ये चितवन पनि पर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“तीन वर्षभित्र देशभरि पूर्ण विद्युतीकरण हुनेछ ।”
कोशी नदीभन्दा नारायणी अझ राम्रो देखिएको भन्दै उहाँले यसबाट पनि भरतपुरको सम्भावना अरु बढी रहेको बताउनुभयो । मन्त्री पुनले भरतपुर महानगरलाई उज्यालो बनाउनका लागि स्मार्ट सडक बत्तीको अवधारणालाई अगाडि बढाइएको बताउनुभयो । मन्त्री पुनले रु २० करोडको लागतमा भरतपुर महानगरमा स्मार्ट सडक बत्ती जडान गर्न लागिएको जानकारी दिनुभयो ।
कार्यक्रममा प्रदेश सांसद विजय सुवेदी र मिलनबाबु श्रेष्ठले समयमै नारायणी र राप्ती नदी तटबन्धलाई अगाडि बढाउनुपर्ने बताउनुभयो । सो अवसरमा महानगर प्रमुख रेनु दाहालले नारायणी नदी तटबन्ध, पश्चिम चितवनका सिँचाइको व्यवस्था र चक्रपथको कामलाई तीव्रताका साथ पर्याप्त बजेटसहित अगाडि बढाइदिन ऊर्जामन्त्री पुनसमक्ष आग्रह गर्नुभयो । उहाँले मन्त्रीसामु स्मार्ट सडक बत्ती र सिँचाइको लागि नारायणी लिफ्ट र खगेरी सिँचाइको विस्तारका लागि पर्याप्त बजेटको व्यवस्था गर्नसमेत आग्रह गर्नुभयो ।
मन्त्री पुनले भन्नुभयो,“नेपाल सरकारले एउटा नमूना परियोजनाका रुपमा भरतपुरमा स्मार्ट सडक बत्ती जडान गर्दै छ । आकाशमा जहाजमा उड्नेले पनि उज्यालो भरतपुर देख्ने छन् ।”
ऊर्जामन्त्री पुनले सरकार कानून निर्माण र सङ्घीय व्यवस्थाअनुरूप तीन वटा तहको सरकार सञ्चालनको सिकाइमा रहेको र योजनाबद्ध र दिगो विकासको लक्ष्यसहित अगाडि बढिरहेको बताउनुभयो । उहाँका अनुसार यसवर्ष सरकारले नदी नियन्त्रण र तटबन्धनको लागि करीब रु छ अर्बको बजेट विनियोजन गरेको छ । उहाँले नारायणी तटबन्धनका लागि बजेट अपुग हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा जलस्रोत तथा ऊर्जा मन्त्रालयका सचिव रवीन्द्र श्रेष्ठ, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारी, भरतपुर महानगरपालिका–२६ का वडाध्यक्ष ज्ञानप्रसाद खनाल, भरतपुर महानगरका इञ्जिनीयर भरत आचार्य, भरतपुर महानगरपालिका–१६ का कार्यबाहक अध्यक्ष ओम रावल, उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सहनलाल प्रधानलगायतले आफ्नो धारणा राख्नुभएको थियो ।








































