काठमाडौं, २७ असोज २०७६ । मंगलबारदेखि काठमाडौंमा सुरु हुने गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलनको तयारी पुरा भएको छ ।
दुई दिनसम्म होटल हायात रिजेन्सीमा आयोजना हुने सम्मेलनबाट नयाँ नेतृत्वसमेत चयन हुनेछन् ।
विभन्न १४ पदका लागि ४२ जना चुनिने छन् ।
आगामी नेतृत्वका लागि हालसम्म जर्मनीबाट कुमार पन्त र बेलायतबाट कुल आचार्यले उम्मेदवारी घोषणा दिएका छन् ।
विश्व सम्मेलन सरकार, नेपाल उद्योग वाणिज्य महासङ्घ र गैरआवासीय नेपाली सङ्घको संयुक्त आयोजनामा हुँदै छ । सम्मेलनको जानकारी दिने उद्देश्यले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष कुमार पन्तले सम्मेलनको सबै तयारी पूरा भएको जानकारी दिनुभयो ।
उहाँले सम्मेलन नेपालको विकास निर्माणमा सङ्घले खेल्ने भूमिकामा केन्द्रित हुने बताउनुभयो । सम्मेलनमा सरकार, राजनीतिक दल, उद्यमी व्यवसायी र सङ्घलाई एकै ठाउँमा सहभागिता गराई मुलुकको आर्थिक विकासमा छलफल गरिनेसमेत उहाँले जानकारी दिनुभयो ।
उपाध्यक्ष पन्तले नेपालको आर्थिक उन्नतिका लागि सङ्घका सदस्यले सिकेको ज्ञान, सीप र प्रविधिलाई भित्र्याउन सङ्घ प्रतिबद्ध रहेको धारणा राख्नुभयो । ‘म, मेरो एनआरएन र मेरो नेपाल’ भन्ने मूल नाराका साथ शुरु हुन लागेको सो सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले होटल ह््यातमा गर्नुहुने कार्यक्रम छ ।
सम्मेलनमा ८१ मुलुकका करीब दुई हजार ५०० सहभागी उपस्थित हुने छन् । सङ्घका अध्यक्ष भवन भट्टले सम्मेलनमा मुलुकको समृद्धिको यात्रामा दिशा निर्देशन हुने एजेण्डामा छलफल गरिने बताउनुभयो ।
उहाँका अनुसार ऊर्जा, पर्यटन, पूर्वाधार विकासमा करीब सय अर्ब लगानी गर्ने योजना रहेको जानकारी दिनुभयो । उहाँले सम्मेलनले सबै गैरआवासीय नेपालीलाई एकताबद्ध गराई सहकार्य र सकारात्मक कार्य गर्न ऊर्जा प्रदान गर्दै ‘नेपालका लागि नेपाल’ भन्ने मूल मन्त्रलाई सार्थक बनाउने विश्वास व्यक्त गर्नुभयो ।
पत्रकार सम्मेलनमा सङ्घका प्रवक्ता भुषण घिमिरेका अनुसार सम्मेलनका लागि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा उच्चस्तरिय आयोजक समिति, सङ्घका अध्यक्ष भट्टको संयोजकत्वमा सङ्घको आन्तरिक आयोजक समिति गठन गरिएको छ ।
असोज ३० गतेसम्म सञ्चालन हुने सम्मेलनमा मुलुकको आर्थिक विकासमा सङ्घको भूमिकालगायत विभिन्न सात शीर्षकमा छलफलसमेत हुने प्रवक्ता घिमिरेले जानकारी दिनुभयो । महाधिवेशनले सङ्घको नयाँ नेतृत्वसमेत चयन गर्नेछ । नयाँ नेतृत्वका लागि बुधबार निर्वाचन हुने जनाएको छ ।
नयाँ नेतृत्वका लागि कुमार पन्त र कुल आचार्यबीच प्रतिस्पर्धा हुँदैछ । सङ्घको नयाँ नेतृत्वका लागि प्रत्येक दुई÷दुई वर्षमा निर्वाचन हुने गर्दछ । कूल ४२ पदका लागि दिउँसो ३ बजेदेखि साँझ ८ बजेसम्म हुने निर्वाचनमा विद्युतीय यन्त्रबाट मतदान हुनेछ । सम्मेलनमा भाग लिन गैरआवासीय नेपाली स्वदेश आएका छन् ।
नेतृत्वमा पन्त र आचार्यबीच प्रतिस्पर्धा
राजधानीको होटल हायात रिजेन्सीमा हुने सम्मेलन ३० गतेसम्म चल्नेछ। सन् २००३ देखि विदेशमा छरिएर रहेका गैरआवासीय नेपालीलाई समेट्ने क्रममा संघले ८१ मुलुकमा आफ्नो राष्ट्रिय समन्वय परिषद् गठन गरिसकेको छ।
यो महाधिवेशनले आगामी कार्यकालका लागि नेतृत्वसमेत चयन गर्नेछ। आगामी नेतृत्वका लागि उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्यले उम्मेदवारी दिने घोषणा गरेका छन्। पन्तको जन्म घर गोरखा हो। आचार्य पर्वतका हुन्।
आचार्यले सोमबार पत्रकार सम्मेलन आयोजना गरी आफ्नो प्यानल घोषणा गरेका छन्। आचार्य प्यानलबाट महासचिवमा जानकी गुरुङ बेल्जियम, उपाध्यक्षमा केशव पौडेल अमेरिका, मन केसी अस्ट्रेलिया, नरेन्द्र भाट मध्यपूर्व र महिला उपाध्यक्षमा रबिना थापा अमेरिकाले उम्मेदवारी दिने घोषणा गरेका छन्। कोषाध्यक्षमा सोम सापकोटाले उम्मेदवारी दिनेछन्।








































