काठमाडौं, २७ असोज २०७६ । गैरआवासीय नेपाली संघको नवौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन मंगलबार सुरु हुने भएको छ । यो सम्मेलन तथा महाधिवेशनमा विश्वका ८० भन्दा बढी मुलुकमा रहेका गैरआवासीय नेपालीको सहभागिता रहने संघले जनाएकोे छ ।
उक्त सम्मेलनले नेपालका समृद्धिको यात्र दिशानिर्देश हुने अजेन्डामा बृहत् छलफल गरी महत्त्वपूर्ण निष्कर्ष निकाल्ने संंघले जनाएको छ ।
यस वर्षको विश्व सम्मेलन पनि विगतमा झैं नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र गैरआवासीय नेपाली संघको संयुक्त आयोजनामा हुन लागेको हो । सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले र समापान प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने संघले जनाएको छ ।
उक्त सम्मेलन आयोजनाका लागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा एक उच्चस्तरीय आयोजक समितिको गठन भइसकेको संंघको भनाइ छ ।
उक्त आयोजक समितिमा नेपाल सरकारका प्रतिनिधि र सरोकारवाला संघ–संस्थाका अध्यक्ष छन् । यसैगरी, संघको आन्तरिक आयोजक समिति अध्यक्ष भवन भट्टको अध्यक्षतामा गठन भएको छ ।
सम्मेलनको मूल विषय ‘म, मेरो एन आर एन ए, र मेरो नेपाल’मा आधारित भएर विभिन्न सत्रहरू चल्ने छन् । सम्मेलनमा नेपाल सरकार, राजनीतिक दल, उद्यमी व्यवसायी, मुलुकको उद्योग व्यवसाय र आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने नागरिक समाज, समाजसेवी र सञ्चारकर्मीको सहभागिता रहने बताएको छ ।
सम्मेलनमा ८१ मुलुकका गैरआवासीय नेपाली प्रतिनिधि, स्वदेशी–विदेशी सहभागी गरी करिब २५ सयको सहभागिता रहने छ । यस वर्ष संघको नयाँ नेतृत्व समेत चयन हुँदैछ ।








































