काठमाडौं, २४ असोज २०७६ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पछिल्लो समय सडक दुघर्टना बढ्दै गइरहेकाले तत्काल कार्यदल गठन गरी घटनाको अध्ययन गरेर नियन्त्रण गर्न गराउन सरकारको ध्यान आकृष्ट गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले शुक्रबार विज्ञप्ति जारी गरेर सिन्धुपाल्चोकको बडहरेमा शुक्रबार विहान भएको बस दुर्घटनाको छानबिन गर्न माग गर्दै सरकारको ध्यानाकर्षण गरेका हुन् ।
बसमा क्षमताभन्दा बढी यात्रु सवार हुन दिनु, त्यसको नियन्त्रण नगर्नु र सवारी साधन सञ्चालन गर्नुभन्दा अगाडि त्यसको जाँच नगर्नुले दुर्घटना बढेको कांग्रेसको ठहर छ । यस्ता घटना दोहोरिन नदिन सरकारले यथाशीघ्र आवश्यक कदम चाल्नुपर्ने कांग्रेसले जनाएको छ ।
सभापति देउवाले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जलि तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उनले घाइतेको उपचारको प्रबन्ध मिलाउन सरकारलाई आग्रहसमेत गरे । सिन्धुपाल्चोकको सुपाघाटबाट काठमाडौँ आउँदै गरेको हेलम्वु यातायातको बा २ ख २७१५ नम्बरको बस इन्द्रावती गाउँपालिका १० बडहरे मोडमा शुक्रबार बिहान दुर्घटना हुँदा कम्तिमा १४ जनाको मृत्यु हुनुका साथै ६० बढी यात्रु घाइते भएका छन् ।








































