क्यानबेरा, २४ असोज २०७६ । अस्ट्रेलियाको घरेलु मैदान क्यानबेरामा रक्षात्मक प्रदर्शन गरेको खेलमा नेपाल अस्ट्रेलियासँग ५ – ० ले पराजित भएको छ । नेपालले अन्तर्राष्ट्रिय फुटबलमा अहिलेसम्मकै उच्च वरीयताको टोली अस्ट्रेलियासँग पहिलो पटक खेलेको हो ।
विश्व वरीयतामा १६१ औँ स्थानमा रहेको नेपालभन्दा ११७ औँ स्थानमाथि रहेको अस्ट्रेलिया ४४ औँ स्थानमा छ । उनीहरूको घरेलु मैदानमा धेरै गोल खान सक्ने कतिपयको अनुमान विपरीत नेपालले शुरूदेखि नै रक्षात्मक तर आत्मविश्वासयुक्त खेल प्रदर्शन गरेको थियो । क्यानबेराको जिआईओ रङ्गशालामा उपस्थित १८ हजार नेपाली समर्थकले नेपाललाई खेलभरि हौस्याएका थिए । उनिहरुले अन्तिम पल समेत नेपाल नेपाल भन्दै खेलाडीलाई हौस्याएका थिए ।
अनुमान गरिए झैँ अस्ट्रेलियाका खेलाडीहरूले शुरूदेखि नै पोष्टमा लगातार आक्रमण थालेका थिए । उनीहरू हतारिएका थिएनन् । बलमाथि नियन्त्रण बनाउने र विना गल्ती आरामसँग आक्रमण गर्ने रणनीतिमा अस्ट्रेलियाका खेलाडीहरू देखिएका थिए । नेपाली खेलाडीहरू पनि विपक्षीलाई रोक्ने क्रममा हडबडाएका देखिएनन् । बरु छोटो छोटो पास खेलेर उनीहरूले विपक्षीलाई खुल्न दिएनन् ।
रक्षात्मक खेल्ने र मौका पाए ‘काउन्टर एट्याक’ मा जाने नेपाली प्रशिक्षक योहान कालिनको रणनीति अनुसार उनले एकजना स्ट्राइकर अभिषेक रिजाललाई मैदानमा उतारेर बाँकीलाई रक्षात्मक जिम्मेवारी दिएका थिए । खेल शुरू भएको छैटौँ मिनेटमा नेपालले गोल खान पुग्यो । तर पनि खेलाडीहरूले आत्मविश्वास भने गुमाएको देखिएन र विपक्षीका प्रहारहरूलाई निरन्तर विफल पारिरहे ।
दोस्रो हाफमा अस्ट्रेलियाको खेल सुस्ताए जस्तो देखियो । पहिलो हाफमा तीन गोल हानेको अस्ट्रेलियाले दोस्रो हाफमा दुई गोल मात्र गर्न पुग्यो । दोस्रो हाफमा नेपालले पनि विपक्षी पोष्टमा आक्रमण गर्ने अवसरहरू सिर्जना गर्यो । यो जितसँगै अस्ट्रेलिया विश्वकप फुटबल एशियाली छनोटको समूह बीको पहिलो स्थानमा उक्लिएको छ |









































