काठमाडौं, २३ असोज २०७६ । चिनियाँ राष्ट्रपति सी जिनफिङको स्वागतका लागि भइरहेको तयारीलाई बिथोल्ने २ जना पक्राउ परेका छन् ।
नयाँ बानेश्वर क्षेत्रमा सीको स्वागतका लागि टाँगिएका ब्यानर च्यातेपछि पछिल्लो २४ घन्टामा २ जना पक्राउ परेका हुन् । उनीहरूको ठेगाना र परिचय खुलाइएको छैन ।
प्रहरीले यसअघि पनि काठमाडौंको बौद्ध र ललितपुरको जावलाखेलबाट सीको स्वागतका लागि भइरहेको तयारीलाई विथोल्न खोज्ने पाँच जना तिब्बती शरणार्थी र एक जना नेपालीलाई पक्राउ गरी सोधपुछ गरेको छाडेको थियो ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउने भएपछि सुरक्षा व्यवस्थालाई कडा बनाइएको छ । परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरी दुईदिने भ्रमणका लागि शनिबार चिनफिङ नेपाल आउने जानकारी गराएसँगै काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्थालाई कडा पारेको बताएको छ ।
प्रहरीले सी चिनफिङको सुरक्षाका लागि उपत्यका बाहिरबाट समेत थप जनशक्ति झिकाउने तयारी गरेको छ ।
चिनियाँ राष्ट्रपतिको सुरक्षाका लागि पहिलो घेरामा नेपाली सेना, दोस्रो घेरामा नेपाल प्रहरी, तेस्रो घेरामा सशस्त्र प्रहरी बल र चौथो घेरामा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी रहने बताइएको छ ।








































