काठमाडौ १८ असोज २०७६ । सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले फूलपाती बढाईँ गरेको छ ।
काठमाडौंको बसन्तपुरस्थित दशैंघरमा वडा दशैंको सातौं दिन फूलपाती भित्र्याएपछि सैनिक मंच टुँडिखेलमा राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा फूलपातीको हर्षबढाई गरेको हो।
बढाईँ कार्यक्रमको शुभारम्भमा प्रमुख अतिथी राष्ट्रपतिमा नेपाली सेनाको सम्मान गारत टोलीले सलामी अर्पण गरेको थियो । समारोहमा नेपाली सेनाले बढाइका विभिन्न कौशल प्रर्दशन गरेको थियो भने नेपाली सेनाको हेलिकप्टरद्धारा पुष्प वृष्टि तथा तोप बढाई पनि गरिएको थियो ।
कवाज टोलीले राईफलबाट विभिन्न पाटाहरुबाट छिटो लहरे बढाईँ, लहरे बढाईँ, एकठ्ठा बढाईँ तथा षट्कोण फर्मेसनमा बढाईँ र तोपबाट बढाईँ गरेको थियो । कार्यक्रमको अन्त्यमा, बढाईँ कवाजमा भाग लिने बाहिनी, गण तथा गुल्महरुले इज्जत अर्पण कवाज समेत प्रदर्शन गरेका थिए ।
नेपाली सेनाद्वारा आयोजित उक्त फूलपाती बढाईँ समारोहमा राष्ट्रपति, उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधान न्यायाधीश ओम प्रकाश मिश्र, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, मन्त्री गण, संवैधानिक अङ्गका प्रमुखहरु, नेपाल सरकारका मुख्य सचिव तथा सचिवहरु, अन्य सुरक्षा निकायका प्रमुखहरु, नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरु, पूर्व प्रधानसेनापतिहरु, बहालवाला रथीबृन्द तथा पूर्वरथीबृन्द, नेपालस्थित विदेशी नियोगका सैनिक सहचारीहरु, विभिन्न क्षेत्रका लब्धप्रतिष्ठ व्यक्तित्वहरु, सेनानी समूह लगायत सञ्चारकर्मीहरुको समेत उल्लेख्य मात्रामा उपस्थिती रहेको थियो ।








































