काठमाडौं, ५ असोज २०७६ । एनआइसी एशिया बैंक लिमिटेडले श्रम ऐन मिच्दै कर्मचारीहरु निकालेको छ ।
पटक-पटक विज्ञापन गरी ५ महिने करारमा राखिएका कर्मचारीहरुलाई विना सूचना बैंकले श्रम ऐन मिच्दै निकालेको हो । यसरी निकालिएका कर्मचारीहरुमध्ये कतिपय अन्यत्र बैंक छोडेर एनआइसी एशिया बैंक आएका तर १५ दिन नपुग्दै निकालिएकाहरु पनि छन् ।
श्रम ऐन २०७४ को दफा १४० को १ (ख) मा उल्लेख भएअनुसार चार हप्तादेखि एक वर्षसम्मको रोजगारीको हकमा कम्तिमा सात दिन अगावै सूचना दिनुपर्ने व्यवस्था छ । तर बैंकले विना कुनै सूचना यसरी सयौं कर्मचारीहरु निकालेको छ ।
कर्मचारी भन्छन्, ‘अन्य ठाउँको जागिर छोडेर आयौं, हाम्रो भविष्यमाथि खेलबाड भयो’
यता बैंकबाट विना सूचना निकालिएका कर्मचारीहरुले आफ्नो भविष्यमाथि खेलबाड भएको दावी गरेका छन् ।
उनीहरुले एनआइसी एशिया बैंकमा काम राम्रो सिकिने भन्दै आएको तर जागिर खाएको १५ दिनमै निकालिँदा आफुहरुमाथि अन्याय भएको दावी गरेका छन् ।
‘उचित र पर्याप्त कारणविना रोजगारी अन्त्य गर्न नपाइने भन्ने श्रम ऐनको स्पष्ट व्यवस्था विपरित बैंकले मनपरी ढंगले हामीलाई निकालेको छ । बैंकको यो कदमले समग्र बैंक तथा वित्तीय संस्थाहरुको रोजगारीमाथि नै प्रश्न उठाएको छ भने अव के बैंकको जागिर सुरक्षित छ त भन्ने प्रश्न पनि उठाएको छ । एनआइसी एशिया बैंकको यो बदमासीविरुद्ध नियामक निकाय अव पनि नजाग्ने हो भने कर्मचारीहरु कहिले जागिर जाला भनेर डर नै डरमा बसेर काम गर्नुपर्ने स्थिति छ ।’ बैंकबाट निकालिएका एक कर्मचारीले भने ।









































