गोरखा, भाद्र १३ गते शुक्रबार । प्रभु बैंक लि ले गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं १०, छेपेटारमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
उक्त शाखाको गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले शाखाको समुद्घाटन गर्नु भएको थियो । शाखा कार्यालय समुद्उद्घाटन कार्यक्रममा नगरप्रमुख पन्तले बैंकले गाउँगाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी ब्यक्त गर्नुभयो ।
उहाले छेपेटार शाखा कार्यालयबाट उक्त क्षेत्रका सरकारी निकाय, व्यापारी तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा उपलब्ध हुने विश्वास ब्यक्त गर्नुभयो । उहाले बैंकिङ्ग पहुँचभन्दा बाहिर रहनुभएका उक्त क्षेत्रका सम्पूर्ण नागरिकहरुलाई बैंकको सेवा उपभोग गरी लाभ उठाउन समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा गोरखा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघ गोरखाका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
शाखा कार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र गोरखा नगरपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।









































