काठमाडौं, ८ भाद्र २०७६ । प्रहरीले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभजिन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीनैजनाको मिसिल रायसहित चितवन जिल्ला सरकारी वकिल कार्यालयमा पेस गरेको छ ।
प्रहरीले पेस गरेको मिसिलको अहिले अध्ययन भइरहेको छ । सकेसम्म आजै अभियोग-पत्र चितवन जिल्ला अदालतमा पेस गर्ने तयारी छ ।
सरकारी वकिल कार्यालयले अभियोग पत्र अदालतमा दायरपछि समय रहे आजै तीनैजनाविरूद्व थुनछेक बहस हुनेछ । थुनछेक बहसमा तीनै जनालाई थुनामा पठाएर मुद्दाको पुर्पक्ष गर्ने कि तारेखमा छाड्ने अदालतले आदेश गर्नेछ ।
शालिकरामले न्युज २४ छाडेपछिका घटना क्रममा भेटिएका प्रमाणलाई आधार बनाएर रायसहित मिसिल सरकारी वकिल कार्यालयमा पेस भएको हो । लामिछाने, पत्रकार युवराज कँडेल र रूकु भन्ने अस्मिता कार्की तीनै जनालाई मुलुकी अपराध संहिताको दफा १८५ को कसुरमा सजाय मागदाबी गरिएको छ ।








































