काठमाडौं, १७ साउन २०७६ । भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आउँदैछन् ।
नरेन्द्र मोदी नेतृत्वको सरकारमा महत्वपूर्ण जिम्मेवारी पाएका जयशंकर मन्त्री भएपछि पहिलो पटक नेपाल आउन लागेका हुन् ।
उनी अगष्ट २१ तारिखमा नेपाल आउन लागेका हुन् । दुई दिने भ्रमणका लागि जयशंकर (भदौ ४ र ५ गते) नेपाल आउन लागेको स्रोतले बताएको छ ।
दुई देशीय हितका विषयमा छलफल गर्न उनी नेपाल आउन लागेका हुन् । नेपाल र भारतबीच परराष्ट्रमन्त्रीस्तरीय वैठक हुँदै आएको छ ।
आलोपालो शैलीमा यो वैठक हुँदै आएकामा नेपालमा हुने वैठकका लागि एस जयशंकर नेपाल आउन लागेका हुन् ।
यो बैठकमा नियमित बिषयका साथै बाढीडुवानको समस्या लगायतका विषयमा पनि आपसी सहमतिमा निकास निकाल्न प्रयास हुने बुझिएको छ ।
जयशंकरको भ्रमणका क्रममा भारतीय राष्ट्रपति रामनाथ कोविन्दको नेपाल भ्रमणका बारेमा पनि कुराकानी हुने बताइएको परराष्ट्र स्रोतले बताएको छ । भारतीय राष्ट्रपति निकट भविष्यमै नेपाल आउँदै छन् ।
जयशंकर यसअघि नै नेपाल आउने कार्यक्रम रहेको थियो । तर भारतमा संसद बैठक चलिरहँदा अनिवार्य सहभागीता जनाउनु पर्ने भएकाले नेपाल भ्रमणमा केही समय ढिलाइ हुन गएको भारतका लागि नेपाली राजदुत निलाम्बर आचार्यले यसअघी संवाददाताहरुसँग बताएका थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिमेकी पहिलेनीति लिएर दोस्रो कार्यकाल शुरु गरेको सन्दर्भमा जयशंकरको यो भ्रमण महत्वपूर्ण हुने अनुमान कुटनीतिक वृत्तमा गरिएको छ।








































