महिला सशक्तीकरण, संस्थागत विकास, स्वरोजगार प्रवर्द्धन तथा आत्मनिर्भरतामा टेवा पुर्याउने उद्देश्यसहित सम्भव नेपालले भीमसेन थापा गाउँपालिकाका महिला समूहहरूलाई विभिन्न सामग्री हस्तान्तरण गरेको छ।
आइतबार गाउँपालिकाका वडा नम्बर १, २ र ३ का महिला समूहहरूलाई मल्टिप्रपोज मिल, बाजा तथा पोसाक (ड्रेस) लगायत आवश्यक सामग्री वितरण गरिएको सम्भव नेपालले जनाएको छ। संस्थाका अनुसार महिला समूहहरूको माग, आवश्यकता र प्राथमिकतालाई मध्यनजर गर्दै उक्त सहयोग उपलब्ध गराइएको हो।

सम्भव नेपालले गोरखाका विभिन्न स्थानीय तहमा रहेका सयौँ महिला समूहहरूलाई उनीहरूको आवश्यकता अनुरूप विभिन्न सामग्री तथा सहयोग हस्तान्तरण गर्दै महिला सशक्तीकरण र स्वरोजगार प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

संस्थाका अनुसार महिलाहरूलाई केवल भौतिक सहयोग उपलब्ध गराउनेभन्दा पनि उनीहरूको सीप, क्षमता र संस्थागत विकासलाई सुदृढ बनाउँदै आत्मनिर्भर बन्ने आधार तयार गर्नु अभियानको प्रमुख उद्देश्य हो। यसबाट स्थानीयस्तरमा महिला समूहहरूको सक्रियता अभिवृद्धि हुनुका साथै आर्थिक, सामाजिक तथा सामुदायिक विकासमा सकारात्मक योगदान पुग्ने विश्वास संस्थाले व्यक्त गरेको छ।
सम्भव नेपालले विगत डेढ दशकदेखि महिला सशक्तीकरण तथा सामुदायिक विकासका क्षेत्रमा निरन्तर काम गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि स्थानीय समुदायको आवश्यकता, सुझाव र सहकार्यका आधारमा यस्ता कार्यक्रमलाई थप प्रभावकारी र परिणाममुखी बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।








































