सिम्पानी न्यूज, काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुकको शिक्षा क्षेत्रमा देखिएको मुख्य समस्या राजनीति नभएर ‘दलीयकरण’ भएको टिप्पणी गरेका छन्। शिक्षा क्षेत्रको वास्तविक सुधारका लागि विद्यालयहरूलाई दलगत प्रभाव र हस्तक्षेपबाट पूर्ण रूपमा मुक्त गर्न जरुरी रहेको उनको भनाइ छ।
शुक्रबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै सभापति थापाले विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षक नियुक्तिसम्म दलीय आधारमा हुने प्रवृत्तिका कारण नेपालको शिक्षा प्रणाली धराशायी बन्दै गएको दाबी गरे।
“शिक्षामा राजनीति भयो भनिन्छ, तर म भन्छु शिक्षामा राजनीति होइन, दलीयकरण भयो,” थापाले भने, “हामीलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पनि आफ्नै मान्छे चाहियो, प्रधानाध्यापक पनि आफ्नै चाहियो। गाउँघरमा विद्यालयको अवस्था सोध्दा ‘त्यहाँको अध्यक्ष र शिक्षक हाम्रै मान्छे हो’ भन्ने जवाफ आउँछ। यो सोच र प्रवृत्तिबाट हामी बाहिर निस्कनै पर्छ। यो राजनीति होइन, भागबन्डा र दलीयकरण हो।”
सभापति थापाले शिक्षा आफैँमा एउटा महत्वपूर्ण राजनीतिक मुद्दा (Political Issue) र देशको भविष्य तय गर्ने माध्यम भए पनि यसलाई दलीय स्वार्थको अखडा बनाइनु घातक भएको बताए। समुन्नत नेपाल निर्माणका लागि शिक्षा क्षेत्रले कस्तो भूमिका खेल्न सक्छ र यसको दूरगामी लक्ष्य के हुनुपर्छ भन्ने विषयमा मात्रै स्वस्थ र गम्भीर राजनीतिक बहस हुनुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा उपस्थित अन्य शिक्षाविद् तथा सरोकारवालाहरूले पनि विद्यालय तहदेखि नै दलीय राजनीतिको अन्त्य गरी योग्यता र क्षमताका आधारमा जनशक्ति परिचालन नगरिए सार्वजनिक शिक्षाको साख जोगिन गाह्रो हुने धारणा व्यक्त गरेका थिए।








































