
काठमाडौं । नेपालको प्रतिष्ठित सौन्दर्य प्रतियोगितामध्ये एक ‘मिस ग्रान्ड नेपाल २०२६’ को पहिलो चरणको अडिसन सफलतापूर्वक सम्पन्न भएको छ। देशका विभिन्न क्षेत्रबाट आएका प्रतिभाशाली तथा आत्मविश्वासी युवतीहरूको उल्लेखनीय सहभागितासहित पहिलो अडिसन सम्पन्न भएको आयोजक संस्थाले जनाएको छ।
पहिलो चरणको छनोट सकिएसँगै अब प्रतियोगिताको ‘मेगा अडिसन’ आगामी असार १० गते आयोजना गरिने भएको छ। पहिलो अडिसनमा सहभागी हुन छुटेका इच्छुक युवतीहरूका लागि मेगा अडिसन अन्तिम अवसर हुने आयोजकको भनाइ छ।

युवतीहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व र आत्मविश्वास अभिवृद्धि गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गराउने उद्देश्यले यो प्रतियोगिता आयोजना हुँदै आएको छ।
प्रतियोगितामा सहभागी हुनका लागि १८ देखि ३० वर्ष उमेर समूहका युवतीहरूले आवेदन दिन सक्नेछन्। छनोट भएका प्रतियोगीहरूलाई नेपालका स्थापित प्रशिक्षकहरूबाट विशेष बन्द प्रशिक्षण, फोटोसुट, व्यक्तित्व विकास, क्याटवाक, तथा मिडिया एक्सपोजर लगायतका विभिन्न विधामा प्रशिक्षण दिइने आयोजकले जनाएको छ।







































