सिम्पानी न्यूज डेस्क, काठमाडौँ । फिलिपिन्सको मिन्डानाओ टापुको दक्षिणी तटमा सोमबार गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या कम्तीमा ४५ पुगेको छ । फिलिपिन्सको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् (NDRRMC) ले बुधबार सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार विनाशकारी भूकम्पमा अझै १७ जना बेपत्ता छन् भने ४८७ जना घाइते भएका छन् ।
७.८ म्याग्निच्युडको उक्त भूकम्पका कारण मिन्डानाओ र मध्य फिलिपिन्सका विभिन्न भागहरू नराम्ररी प्रभावित भएका छन् । मुख्य धक्कापछि अहिलेसम्म १ हजार ७ सयभन्दा बढी पराकम्पहरू (आफ्टरशक्स) रेकर्ड गरिएको अधिकारीहरूले जनाएका छन् । प्रभावित क्षेत्रहरूमा सेना, प्रहरी र स्थानीय उद्धार टोलीहरूले बेपत्ताहरूको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिएका छन् ।
डेढ लाख नागरिक प्रभावित, भौतिक संरचनामा ठूलो क्षति एनडीआरआरएमसीका अनुसार भूकम्पले ३३ हजारभन्दा बढी घरपरिवारका झण्डै १ लाख ५० हजार मानिसहरूलाई प्रत्यक्ष असर पुर्याएको छ । भूकम्पका कारण अस्पताल, विद्यालय, सडक र पुलसहित २३८ वटा सार्वजनिक भौतिक पूर्वाधारहरू क्षतिग्रस्त भएका छन् ।
सबैभन्दा बढी मानवीय र भौतिक क्षति सारङ्गनी र दक्षिण कोटाबातो प्रान्तमा भएको छ । करिब ७ लाख जनसङ्ख्या रहेका यी दुई प्रान्तमा हजारौँ मानिसहरू विस्थापित भएका छन् ।
समुद्रमुनि थियो भूकम्पको केन्द्रविन्दु फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एन्ड सिसमोलोजीका अनुसार सोमबार बिहान स्थानीय समय अनुसार ७:३७ बजे भूकम्प गएको थियो । पृथ्वीको सतहबाट ३३ किलोमिटर गहिराइमा गएको उक्त भूकम्पको केन्द्रविन्दु मिन्दानाओ टापुको सारङ्गनी प्रान्त अन्तर्गत पर्ने मासिम सहरको तटबाट ३२ किलोमिटर दक्षिण–पश्चिम समुद्रमा रहेको थियो ।
फिलिपिन्स प्रशान्त महासागरीय ‘रिंग अफ फायर’ (Ring of Fire) मा अवस्थित रहेकाले यहाँ बारम्बार शक्तिशाली भूकम्प र ज्वालामुखी जाने गर्दछ ।








































