काठमाडौँ — नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ गतेका घटनाहरू आकस्मिक नभई लोकप्रिय नेताहरूलाई बदनाम गराउन योजनाबद्ध रूपमा रचिएको खेल भएको दाबी गर्नुभएको छ।
अध्यक्ष ओलीले पछिल्लो समय सामाजिक मूल्य-मान्यता र नेपाली संस्कृतिमाथि प्रहार गर्दै नेताहरूको चरित्र हत्या गर्न एउटा गिरोह नै परिचालन गरिएको र त्यसलाई वर्तमान सरकारले नै संरक्षण दिएको गम्भीर आरोप लगाउनुभएको छ।
“भदौ २३-२४ गतेको घटना त्यतिबेलकै उपज मात्रै थिएन। यसका निम्ति लोकप्रिय नेताहरूलाई अलोकप्रिय कसरी बनाउने, उनीहरूका विरुद्ध झुटा र बनावटी आरोप लगाएर कसरी बदनाम र चरित्र हत्या गर्ने भन्ने काम अगाडिदेखि नै हुँदै आएको थियो,” ओलीले भन्नुभयो।
नेपालको सभ्य संस्कृति र सभ्यतामाथि प्रहार भइरहेको प्रति चिन्ता व्यक्त गर्दै उहाँले भन्नुभयो, “अहिले असभ्य भाषा, शैली र व्यवहार बोक्ने एउटा गिरोह खटाइएको छ। कोही बोल्यो भने उसका विरुद्ध नकारात्मक र अत्यन्तै लज्जास्पद टिप्पणीहरू गर्ने काम भइरहेको छ। यो सिलसिला अहिलेसम्म पनि सरकार संरक्षित रूपमै चलिरहेको छ।”
अध्यक्ष ओलीले कुन घटना र कुन गिरोहतर्फ संकेत गर्नुभएको भन्ने कुरा स्पष्ट नपारे पनि पछिल्लो समय शीर्ष नेताहरूमाथि सामाजिक सञ्जाल र सडकमा भइरहेको चर्को आलोचना र राजनीतिक ध्रुवीकरणतर्फ उहाँको संकेत रहेको बुझिन्छ।








































