सिम्पानी न्यूज, काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद अप्सना बानुले विगत ३५ वर्षदेखि देश खोक्रो बनाउने तत्वहरूका विरुद्ध आवाज उठाउँदा ‘जेनजी’ (Gen Z) पुस्ताले कुनै अन्याय नगरेको स्पष्ट पारेकी छन्।
प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद बानुले ‘जेनजी आन्दोलन’का क्रममा पक्राउ परी विभिन्न कारागारमा थुनिएका युवाहरूलाई तत्काल रिहा गर्न र उनीहरूको मुद्दा किनारा लगाउन सरकारसँग जोडदार माग गरेकी हुन्।
सुशासनका लागि लड्नेहरू जेलमा
सांसद बानुले मुलुकमा व्याप्त भ्रष्टाचारको अन्त्य र सुशासन स्थापनाका लागि आन्दोलनमा उत्रिएका युवाहरूलाई राज्यले जेलमा कोचेको भन्दै आपत्ति जनाइन्। संसदमा उनले भनिन्:
“३५ वर्षदेखि देश खोक्रो बनाउनेहरूविरुद्ध लडेकाहरू अहिले विभिन्न जेलमा छन्। मुलुकमा सुशासन र भ्रष्टाचारको अन्त्यका लागि लडेकाहरू कसैको घर धान्ने छोरा हुन्, कसैका बुबा हुन् भने कोही सुनौलो भविष्य निर्माणका लागि पढिरहेका विद्यार्थी हुन्। उनीहरूको मुद्दा कहिले किनारा लाग्छ र उनीहरूलाई छाडिन्छ?”
प्रक्रिया पुर्याएर तत्काल छाड्न माग
लामो समयदेखि हिरासत र जेलमा रहेका आन्दोलनकारी युवाहरूको भविष्यप्रति चिन्ता व्यक्त गर्दै सांसद बानुले कानुनी प्रक्रिया पुर्याएर उनीहरूलाई तत्काल न्यायपूर्ण ढंगले छाड्ने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्। पछिल्लो समय राजनीतिक तथा सामाजिक बेथितिविरुद्ध युवा पुस्ता (जेनजी) को आन्दोलन र त्यसमाथि राज्यको धरपकडलाई लिएर संसदमा बहस तातिएको छ।








































