२२ वैशाख, काठमाडौं ।
जनमत पार्टीले मधेस प्रदेश संसदीय दलको नेतृत्वमा आकस्मिक परिवर्तन गरेको छ। पार्टी अध्यक्ष डा. सीके राउतले सोमबार एक विज्ञप्ति जारी गर्दै वर्तमान दलका नेता महेश प्रसाद यादवलाई जिम्मेवारीबाट मुक्त गरी चन्दन कुमार सिंहलाई नयाँ नेता चयन गरिएको जानकारी दिएका हुन्।
पार्टीका महासचिव समेत रहेका सिंह यसअघि प्रमुख सचेतकको जिम्मेवारीमा थिए। अध्यक्ष राउतद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “आजैको मितिदेखि लागू हुने गरी जनमत पार्टी मधेश प्रदेश संसदीय दलको नेताको रूपमा श्री चन्दनकुमार सिंहलाई तोकी जिम्मेवारी हेरफेर गरिएको व्यहोरा जानकारी गराउँदछौं।”
परिवर्तनको पृष्ठभूमि
मधेस सरकारलाई दिएको समर्थन कायम राख्ने वा फिर्ता लिने भन्ने विषयमा जनमत पार्टीभित्र तीव्र मतभेद चुलिँदै गएको थियो। यही आन्तरिक खिचातानी र शक्ति सन्तुलन मिलाउन नेतृत्वले संसदीय दलको नेता नै परिवर्तन गर्ने कठोर कदम चालेको बुझिएको छ।








































