गोरखा । गोरखाको भिमसेनथापा गाउँपालिकाले दलित समुदाय लक्षित ‘दलित सशक्तीकरण कार्यक्रम’ अन्तर्गत मागमा आधारित सामग्री प्राप्त गर्नका लागि प्रस्ताव पेश गर्ने समय थप गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले एक सूचना जारी गर्दै, यसअघि २०८२ चैत २४ गते प्रकाशित सूचना अनुसार तोकिएको समयभित्र पर्याप्त आवेदन प्राप्त नभएकाले पुनः ७ दिनको म्याद थप गर्ने निर्णय गरिएको जानकारी दिएको छ।
सूचना अनुसार सामग्री प्राप्त गर्न इच्छुक विपन्न दलित परिवारहरूले यो सूचना प्रकाशित भएको मिति (२०८३/०१/०९) ले सात दिनभित्र आफ्नो प्रस्ताव पेश गरिसक्नुपर्नेछ। आवेदनका साथमा नागरिकताको प्रतिलिपि, कर तिरेको रसिद, तथा सम्बन्धित टोल विकास संस्था र वडा कार्यालयको सिफारिस अनिवार्य गरिएको छ।
गाउँपालिकाले यसअघि नै रीतपूर्वक आवेदन बुझाइसकेका व्यक्तिहरूले भने पुनः आवेदन दिनु नपर्ने र उनीहरूको पुरानै निवेदनलाई मान्यता दिइने स्पष्ट पारेको छ। तोकिएको मापदण्ड र समयभित्र दर्ता नभएका निवेदनहरूमाथि कुनै कारबाही नहुने प्रशासनले जनाएको छ। कार्यक्रमसम्बन्धी थप स्पष्ट जानकारीका लागि गाउँपालिकाको सामाजिक विकास शाखाको सम्पर्क नम्बर ९८५६००४०३७ मा समन्वय गर्न सकिनेछ।








































