नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयहरूमा विद्यार्थी संगठनका गतिविधि र उपस्थितिलाई निषेध गर्ने निर्णयको कडा शब्दमा भर्त्सना गर्नुभएको छ। सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को अधिकार खोस्ने यो कदमलाई चरम अलोकतान्त्रिक र प्राज्ञिक स्वायत्ततामाथिको ठाडो हस्तक्षेपको संज्ञा दिनुभएको छ।
विश्वविद्यालयभित्र सुरक्षा युनिट स्थापना गर्ने तयारीप्रति आपत्ति जनाउँदै ज्ञवालीले कठोर पञ्चायती निरंकुशताको समयमा समेत सरकारले गर्न नसकेको यस्तो धृष्टतापूर्ण निर्णय वर्तमान समयमा हुनु विडम्बनापूर्ण रहेको उल्लेख गर्नुभएको छ। यस्तो विवादास्पद निर्णयमा विश्वविद्यालयका उपकुलपतिहरूले कसरी सहमति जनाएर हस्ताक्षर गरे भन्दै उहाँले उनीहरूको भूमिकामाथि समेत गम्भीर प्रश्न उठाउनुभएको छ।








































