जेन-जी र अन्य वैकल्पिक शक्तिहरुलाई पनि ल्याइने, चुनावमा हिस्सेदारीबारे होमवर्क जारी
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह राष्ट्रिय स्वतन्त्र पार्टीमा भित्र्याउने तयारी अन्तिम चरणमा पुगेको छ । कुनै अनपेक्षित व्यवधान नआएको खण्डमा आजै सहमति जुट्न सक्ने स्रोतले बतायो ।
रास्वपा सभापति रवि लामिछाने र मेयर साहबीच दुईपटक भएको भेटवार्तापछि सहमतिको वातावरण बनेको हो । अहिले सहमतिको मस्यौदा तयार गर्नका लागि रास्वपाका असिम साह उनका दाइ आसिफ साह र बालेनका निटकस्थ कुमार व्यन्जनकार जुटिरहेका छन् । यी तीनजनाले नै सुरूवातदेखि रवि र बालेनलाई मिलाउन सबै होमवर्क गरेका थिए ।
मस्यौदाको अन्तरवस्तुहरूबारे स्रोतले जानकारी दिन चाहेन । यद्यपि, बालेनलाई रास्वपाले भावी प्रधानमन्त्रीका रुपमा अघि सार्ने गरी सहमति हुन लागेको बुझिएको छ । रास्वपा सभापति रवि लामिछानेको मुद्दा अदालतबाट छिनोफानो नहुँदासम्म उनी प्रधानमन्त्रीका दाबेदार बन्न सक्ने अवस्था छैन । रविले आफू प्रधानमन्त्री बन्न नसक्ने स्थितिमा बालेनलाई अघि सार्न सकारात्मक बनेको स्रोतको भनाइ छ ।
रास्वपामा बालेनले कुनै पोर्टफोलियोमा दाबी गरेका छैनन् । तर, उनी सभापति लामिछानेपछिको वरीयतामा रहन सक्ने अपेक्षा छ । अहिले रास्वपाको उपसभापति डीपी अर्याल दोस्रो वरीयतामा छन् ।
बालेनसँगै सबै बैकल्पिक शक्ति र जेनजी समूहहरु रास्वपामा समाहित हुने दावी स्रोतको छ । उज्यालो नेपाल पार्टी गठन गरेका ऊर्जामन्त्री कुलमान घिसिङ पहिल्यैबाट बालेनसँग संवादमा छन् । उज्यालो नेपाललाई पनि रास्वपामा मर्ज गर्ने योजना छ, तर ठोस सहमति जुटिसकेको छैन । रवि र कुलमानबीच वार्ता हुन बाँकी नै छ ।
सुधन गुरुङ, रक्षा बम लगायतका जेन-जी युवाहरूसँग बालेनले संवाद गरेका छन् । बालेनसँगै उनीहरु पनि रास्वपामा जाने दावी गरिएको छ । बालेनले श्रम संस्कृति पार्टी गठन गरेर चुनावमा भाग लिने तयारी गरेका हर्क साम्पाङलाई पनि मिलाउन चाहेका छन् । तर, साम्पाङ बालेनप्रति सकारात्मक छैनन् ।
बालेनले रास्वपाको चुनावचिन्ह घन्टीबाट आमनिर्वाचनमा भाग लिने छन् । उनी कहाँबाट लड्ने भन्ने तय भइसकेको छैन । यद्यपि, एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रबाट लड्न चाहेको भनिएको छ ।
आगामी निर्वाचनमा उम्मेदवार उठाउँदा बालेनलाई कति हिस्सा दिने भन्ने पनि छलफल भइरहेको छ । समानुपातिक चुनावका लागि बन्द सूची पेश गर्ने समय तीन दिन मात्रै बाँकी रहेकाले दुवै पक्ष समयको दबाबमा छन् ।








































