काठमाडौं, १६ जेठ २०७६ । राष्ट्रपति विद्यादेवी भण्डारीले नारायणहिटी दरबार सङ्ग्रहालयस्थित नवनिर्मित गणतन्त्र स्मारकको बुधबार साँझ विशेष समारोहका बीच अनावरण गरेकी छन् ।
बाह्रौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति भण्डारीले स्मारकको धातुपत्र अनावरण गर्नाका साथै आजदेखि सञ्चालनमा आएको गणतन्त्र सङ्ग्रहालयको अवलोकन गर्नुभयो ।
शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालका अनुसार आर्थिक वर्ष २०६५/०६६ को बजेटदेखि निर्माण शुरु भएको स्मारक गोरखा भूकम्पका कारण निर्माण अवधि लम्बिएको बताउनु भयो ।
करीब ३५ रोपनी जग्गामा निर्मित स्मारकमा गणतन्त्र स्थापनाका लागि ज्यान गुमाएका, घाइते, बेपत्ता र गणतन्त्रका योद्धाका स्मृतिमा चार स्तम्भ राखिएको छ । स्तम्भहरुलाई कलात्मक रुपमा एकापसमा जोडिएको छ भने रातो रङले सजाइएको छ । उक्त रङले आन्दोलनकारीको रगत खेर गएको छैन भन्ने सन्देश दिने गेलालले जानकारी दिनुभयो ।
समारोहमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, मन्त्रिगणलगायत विशिष्ट व्यक्तिको उपस्थिति थियो । कार्यक्रममा गायिका आनीछोइङ डोल्मा र सङ्गीतकार न्ह्यु बज्राचार्यले साङ्गीतिक प्रस्तुति रहेको थियो ।








































